नेपाल साप्ताहिक २०६५ फाल्गुण २५ गतेको मेरो स्तम्भ बायाँ फन्को मा प्रकाशित
अघिल्लो साता राजधानीमा भएको पलेँटी सांगीतिक शृंखलामा कविवर माधवप्रसाद घिमिरेसँग निकटमा साक्षात्कार गर्न पाइयो । महाकवि देवकोटा र सिद्धिचरण श्रेष्ठ काल र अहिलेको युगका सेतु उनी ९० वर्षको उमेरमा पनि महाकाव्य लेखिरहेका छन्, जुन आफैँमा एउटा चामत्कारकि उपलब्धि हो ।
गीतमा मात्र सीमित भएर घिमिरेको कुरा गर्दा नारायण गोपालले नातिकाजीको संगीतमा गाएको 'आजै र राती के देखेँ सपना, मैमरी गएको' उल्लेख्य मान्नुपर्छ । त्यो गीतको दोस्रो अन्तराले भन्छ,
वरि र परि घाम र छाया, माझैमा पियार
संसारमा जन्म दिएर ईश्वर बैँसैमा नमार... ।
नराम्रो सपना देखेर डराएको यस गीतको अभिव्यक्ति र जीवनप्रतिको मोह हामीले पहिले पनि बारम्बार सुनेका छौँ । जीवन भनेको सक्रियताको अर्को नाम हो । मान्छे मर्न नचाहनु भनेको सक्रिय हुने रहर नपुग्नु हो । हामी सबै बाँच्न अर्थात् सक्रिय हुन चाहन्छौँ । जीवनको सक्रियता केमा खर्चने भन्ने पक्षचाहिँ मान्छेपिच्छे फरक हुन्छ । आफ्नै लागि बाँच्ने मान्छे पनि एकदिन मर्छन्, अरूका लागि बाँचिदिनेहरू पनि । तर, समाज र राष्ट्रका लागि योगदान दिँदै अरूका लागि बाँच्नेहरू मरेर गए पनि सम्झनामा बाँचिरहन्छन् ।
अहिलेको अवस्थामा सारा देश नै नराम्रो सपना देखिरहेको छ । र, त्यो सपना कतै साँचो नभइदेओस् भनेर भित्रभित्र हामी डराइरहेका छौं। अनि, हामी अहिले गीतको दोस्रो अन्तरामा अलमलिएका छौँ । त्यहीँभित्र आफूलाई सकारात्मक बनाउन सकिने बाटाहरू पहिल्याउन खोज्दैछौँ । सामान्यतः गीतमा हुने भनेको पनि दुई अन्तरा नै हो । तर, त्यस साँझ गीतको तेस्रो अन्तरा पनि हुँदोरहेछ भनेर थाहा मात्र होइन, सुन्न पनि पाइयो ।
ब्यूँझेर हेर्दा पूरबै दिशा उज्यालो भएछ
बारीको डिलमा धोबिनी चरी कराइरहिछ ...।
नराम्रो सपना, त्यसबाट उम्रने डर अनि त्यस डरबाट मुक्तिका लागि सबैभन्दा महत्त्वपूर्ण र पहिलो कुरा ब्यँूझ्नु, आँखा खोल्नु हो । आँखा खोलेपछि चेतना पनि सँगसँगै खुल्छ । विवेकले काम गर्न थाल्छ । सक्रिय भइन्छ र सही अर्थमा ज्यूँदो भइन्छ । अँध्यारोले निलेर छोपेका बाटाहरू उज्यालोले छर्लंग पारेर देखाइदिन्छ । राम्रो पनि देखिन्छ, नराम्रो पनि । त्यसपछि मान्छेले कुन बाटोमा हिँड्ने भन्ने निक्र्यौल गर्छ ।
निन्द्रा र काल भनेका जुम्ल्याहा दाजुभाइ हुन् । सपनामा देखेका कुराहरू सत्यभन्दा भिन्न हुन्छन् । त्यसैले सपनामा रमाउनु पनि हुँदैन, सपनासँग डराउनु पनि हुँदैन । पूर्व दिशाको उज्यालो हेर्न ब्यूँझ्नैपर्छ । नत्र उज्यालोले कसैलाई कुर्दैन । मान्छेका सबै समस्या समाधानका बाटाहरू देखिने तेस्रो अन्तरा हामीहरूमाझ कतै ओझेल परेर बसेको हुन्छ, जसको खोजी ब्यूँझेपछि मात्र सम्भव हुन्छ ।
सक्रिय, चेतनशील र जिम्मेवार नागरकि हुन हामीले अचेल धेरै सुन्ने र बोल्ने शब्द हो, सुसूचित । सुुसूचित हुनु हाम्रो अधिकार मात्र होइन, कर्तव्य पनि हो । तर, सुसूचित हुनु भनेको के त ? के साथीभाइको भेला, जमघट, अफिस, सडक र घरमा राजनीतिक कुरा गर्नु र हरेक विषयमा राजनीति घुसाउनु सुसूचित हुनु हो ? हाम्रो देश, हाम्रो जीवनशैली र हाम्रो भविष्यमा दूरगामी असर गर्ने अरू थुप्रै कुराहरू सुसूचित हुनुको घेरामा पर्दैनन् ? तिनलाई हामीले तेस्रो अन्तरा बनेर लुक्न दिइरहेका छैनौँ ?
हाम्रा केेटाकेटी पढ्ने विद्यालय वा कलेजहरूले ठटाउने शुल्क कतिसम्म जायज हो भनेर हामीले कहिल्यै टाउको दुखाएनौँ । विभिन्न शीर्षक र उपशीर्षकमा चढेर आउने शुल्क अनुसारका सुविधाहरू दिइएका छन् कि छैनन् भनेर कहिल्यै प्रश्न उठाएनौँ । दूरसञ्चारले दिएको सुविधाको गुणस्तर पुगेन भनेर गुनासोबाहेक केही गरेनौँ । बरु हामी जहिले, जहाँ, जसको सेयर निष्कासन भए पनि सेयर बजारबारे रत्ती नबुझी लाइन लाग्छौँ । देश निर्माणको जिम्मेवारी लिएकाहरूले गैरजिम्मेवार, फितलो र फिल्मी शैलीका वक्तव्यहरू दिँदा पनि कहिल्यै औँला उठाएनौँ ।
केही मानिसले औसत नेपालीले धान्नै नसक्ने जीवनशैली व्यतीत गररिहेका छन्, जुन हामी टुलुटुलु हेररिहेका छौँ । शिक्षा, स्वास्थ्य र गाँसबासमा विवेकहीन व्यावसायिकीकरण भइरहँदा पनि कसैले प्रतिकार गरेका छैनौँ । सामान्य नेपालीको सामान्य आर्जनले न खान पुग्छ, न त छोराछोरी पढाउन सक्छ । अधिकांश नेपालीसँग बिरामी हुँदा उपचार गराउने खर्च हुँदैन । विलासी जीवन बाँच्न मानिसले कहाँबाट र कसरी पैसा कमाएका छन् त ? यसबारे सोच्नु वा सुसूचित हुनु होइन ? तर, हामी आफू पनि कसरी यो दौडमा सम्मिलित हुने भन्ने सोचमा सम्पूर्ण ऊर्जा खर्च गररिहेका छौँ ।
काठमाडौँमा पानीका मुहानहरू सुकिसकेका छन् । उपत्यकाले धान्नेभन्दा बढी सहरीकरण भइसकेको छ । कुनै यस्ता ठाउँ बाँकी छैनन्, जहाँ ट्राफिक जाम नभएको होस् । तर, कुनै पनि विवेकशील मान्छेलाई काठमाडाँैको भविष्य कति हो भनेर सोच्ने फुर्सद छैन, किन ? काठमाडौँ र न्युयोर्कको घरको भाउ बराबर हुँदा पनि यो किन र कसरी भनेर सोचेका छैनौँ । चार आना जग्गा किनेर घर बनाउँदा करोडसम्म खर्च हुने स्थिति आउँदा पनि हामी मान्छेले त्यो कसरी गर्न सक्छ वा सके पनि किन त्यो गर्छ भनेर सोचेका छैनौँ ।
अपार्टमेन्ट र फ्ल्याटका नाममा अहिले बनिरहेका भवनहरू पनि आमनेपालीको सोच र बूताभन्दा बाहिर छन् । ती कसका लागि किन बनिरहेका हुन्, सोचेका छैनौँ । निर्माण माफियाले मनलाग्दी तोकेका भाउहरू जायज हुन् ? त्यसबाट कायम हुने नजिरले घरजग्गाको भाउलाई चुलीमा पुर्याउँदा समग्र अर्थव्यवस्थामा पर्ने असरबारे सबै किन मौन ?
राज्यको चौथो अंग भनेर गर्व गर्ने सञ्चारमाध्यमहरूले पनि सुसूचित बनाउने कामको तेस्रो अन्तरा देख्नुपर्छ । आमनागरकिलाई फौबन्जारमुखी व्यापारीहरूको चंगुलबाट बचाउन पनि चौथो अंगको जिम्मेवारी हुनुपर्छ । सामाजिक, राजनीतिक, आर्थिकलगायतका तमाम पक्षमा आज र भोलिका मात्र समस्या समाधान गर्ने प्रवृत्तिले आज देश ओरालो लागेको कुरामा सुसूचित गर्नैपर्छ । सोच्न सकिएन, अरूलाई परेको समस्याबाट पनि पाठ लिइएन । तर, अब आफैँलाई परेपछि पनि हामीले ब्यूँझेर उज्यालो हेर्न तेस्रो अन्तरा नखोजे कहिले खोज्ने त ?
Monday, March 9, 2009
तेश्रो अन्तरा
Subscribe to:
Post Comments (Atom)
आर्टिकल ले मन छोयो । बिडम्बना ! चाहिने कुरामा हामी चुप चाप हुन्छ नचाहिने कुरा मा सडक मा टाय र बाल्दै - भौतिक बस्तु नाश गर्दै -समय को नाश गर्दै - मुलुक लाई दिन प्रती दिन अस्थिरताको भूमरी मा धकेल्दै हिड्छौ हामी !
ReplyDeleteधेरै कुरा मा हामी सु सुचित हुनु परेको छ तर छै नौ !
यो आर्टिकल मा जे लेख्नु भो पढि सके पछी एक किसिमको दु:ख मात्रै लाग्यो मुलुक को तितो वास्तविकता को नजिक पुग्दा ।
लेख्नु लेखक को दायित्ब हो । दायित्ब निभाउदै जानुस् । अछ्यर को उज्यालो मा शक्ती हुन्छ नदेखिने । तपाईंको लेख को यो सका रात्मक उदेश्य भित्र सु सुचित गर्ने शक्ती छ । पक्कै पढ्ने प्रबुद्द को मस्तिस्क मा यो आर्टिकल ले टर्च लाइट बाल्ने छ ।