Translate

Thursday, December 6, 2012

.....हिमाल बेच्न पाइयोस्


published in Naagarik daily.

नभेम्वर ३, २०११, बिहान पौने सात बजे
पोखराको टूरिष्ट बस पार्क । माकलटोपी लगाएको एउटा बूढो मान्छे यता र उति गर्दै छ । बस चढ्न आएका ‘खैरे’ हरुलाई उसका अभ्यस्त आँखाहरु तौलन खोज्दैछन् । हातमा बोकेको एउटा हिमश्रृँखलाका लाम्चो पोष्टर फिंजाएर देखाउँदै ऊ खैरेका झुण्डझुण्ड चाहार्दै छ ।
‘व्यूटीफूल माउण्टेन सर । चीप एण्ड बेस्ट ।’

उसले नर्थ फेसको नक्कली लोगो छापिएको ठूलो झोला काँधबाट छड्के पारेर भिरेको छ । त्यहाँ भित्र कोचेको छ उसले हिमालहरु । माछापुच्छ्र«े, धौलागिरि, अन्नपूर्ण एक र दुई । हरेक हिमालसंग कठ्याँग्रिएका छन् उसका आवश्यकताहरु । छोरीको स्कूलको फी कठ्याँग्रिएको छ, दुई वर्ष अघि देखि घस्टाएर कुइना फाटेको र लगाउनै नमिल्ने गरी छोटो भएको छोरोको स्वेटर, बूढी आमाको दमको औषधि, स्वास्नीको एउटा न्यानो पछेउरा अनि आफ्नो लागि एक क्वार्टर सस्तो रम ।
‘आजकलका छौंडाछौंडीहरुलाई त भिटामिन पनि चाहिँदैन सप्रिनलाई । मल हाल्या विकासे मूला जस्तो बर्षैपिच्छे हलक्कलक् बढ्छन् । हाम्रो पालामा जस्तो कहाँ सुख छ र बाउआमालाई ।’
छोराको उँचाइ बढेकोमा पनि गुनासो गर्नुपर्ने कस्तो वाध्यता होला त्यो ।
‘यस पटक चीसोले मार्ला जस्तो छ ।’
आफ्ना दुइ हात रगड्दै ऊ थचक्क बस्यो । उत्तरको आकाश वादलले ढाकेको छ । केही पनि देखिंदैन । एउटा सूर्तीको सानो पोको निकाल्यो, पातलो सानो सानो कागज निकाल्यो, त्यसमा अलिकति सूर्ती हालेर दक्षताका साथ बेरबार पारेर कागजको छेउमा जिब्रो घुमायो अनि चपक्क टाँस्यो । आफ्नो कलाकारीसंग सन्तुष्ट भएझैं एक पटक हे¥यो र चाइनिज लाइटरको आगो त्यसमा झोस्यो । लामो सर्को तानेर धुवाँ उडायो । उसलाई यो कागज र सूर्ती एउटा खैरेले दिएको रे । उसैले चुरोट बनाउन पनि सिकाएको रे ।
‘कम्ता नयाँनयाँ कुरा सिकाएर जान्छन् हामीलाई यी खैरेहरु ।’
ऊ अब हिमालमा लागेका धूलोहरु भुईँमा फिंजाएर ओसिलो कपडाले पुछ्न थाल्यो । उत्तरी आकाशका हिमालहरु ढाकिएका भए पनि भुईँमा लम्पसार परेका उसका हिमालहरु टिलिक्क टल्किएका थिए । ऊ फेरि तिनलाई पोको पार्न थाल्यो । यस पटक अन्नपूर्णलाई झोलामा थन्क्याएर उसले धौलागिरि हातमा बोक्यो ।
‘यसले चाहिँ बोहोनी गर्छ कि ?’
एक पटक उसलाई एउटा कुइरीले धौलागिरिको आकार स्वास्नी मान्छेको स्तन जस्तै सुन्दर छ भनेकी थिई रे । उसले कान रातो पार्दै भन्यो र फेरि एकातिर अलप भयो ।
अघिल्लो साँझदेखि निरन्तर परेको बेमौसमी पानीले पोखरामा चीसो वास्तवमै ह्वात्त बढाइदिएको छ । नभेम्वरको पहिलो हप्ता नत्र भने त पोखराका लागि पर्यटकीय समय मानिन्छ । तर एक हप्ता यहाँ बस्दा हिमालको मुख पनि देख्न पाइएन । कुनै कुराको शोक मनाए जस्तो दिन घुम्म भैरह्यो । रुन खोजेको तर आँसु नआएको आँखा जस्तो आकाश मात्र रसाउँथ्यो र टिलपिल गथ्र्यो । अघिल्लो रात मनको बह थाम्न नसकेर भक्कानो फुटेजस्तो मज्जाले रोयो पोखराको आकाश । उसलाई हलुका भएको होला आज ।
सात बजे छुट्ने भनिएको बस समातेर पोखराबाट काठमाण्डौ जान म एका बिहानै टुरिष्ट बस पार्क पुगेको थिएँ । म निस्कँदा सिमसिम पानी अझै बाँकी नै थियो । पौने सातमा बस पार्क पुगे पछि थाहा भयो, ‘सात जना मुलाङ्खारे कुइरे’ ले सिट रद्द गरेका कारण बस अब आठ बजे तिर मात्र हिँड्छ रे । अरु यात्रु खोज्नु परिहाल्यो । टूरिष्ट सिजनमा पनि सातसात सीट खाली राखेर हिंड्नु भनेको इगो हर्ट हुने कुरा पो हो त । अरु बसको अगाडि कसरी नाकमुख देखाउनू ?
एक घण्टा भन्दा बढी समय अब म कसरी बिताऊँ त ? झोलामा किताबहरु त यात्रामा कहिल्यै छुट्दैनन् । केही पढ्न थालौं ? मन नै भएन । फोनमा नेट चलाऊँ भने पनि दूरसंचारको थ्री जीले रक्तचाप मात्र बढाउँछ । म यताउति आँखा डुलाउँछु, अरु केही रुचिकर पात्रहरु देखिन्छन् ।  तिनलाई हेर्दै, सोच्दै र तिनीहरुसंग बोल्दै म यो समय कटाउने निधो गर्छु ।
एउटा अर्को अधवैंशे, बैशाखीमा झुण्डेर फुत्रुक्फुत्रुक् घुम्दै छ । उसले हातमा बोकेको छ, ए फोर साइजको कागजमा कम्प्यूटरको प्रिन्ट आउट । उसको आफ्नै पूर्णकदको फोटो र ठूलाठूला अक्षरमा लेखिएका छन्, ‘यू क्यान हेल्प मी ।’ तर कसैले अहिलेसम्म उसलाई हेल्प गरेको देखिएको छैन ।  तर आशावादी छ ऊ, बसपार्क भरि छरिएका खैरेहरुका झुण्डमा कागज देखाउँदै फन्फनी घुम्दै छ । नेपालीलाई ऊ देखाउँदैन । किनभने उसलाई थाहा छ, नेपालीसंग उसलाई सहयोग गर्ने धन पनि छैन, मन पनि छैन ।
बखतवहादुर रहेछ उसको नाम । बागलुङ माथि कतै एउटा गाउँको वासीन्दा रहेछ । बीस वर्ष अघि जंगलमा घाँसपात गर्न आएका गाउँका ठिटीहरुलाई प्रभावित गर्न खोज्दा त्यसको ठूलो मोल चुकाउनु परेको रहेछ ।
‘रुख चढेर स्याउलाहरु झार्दाझार्दै कुन बेला आफै स्याउला भइयो, थाहा पाइएन बाबु ।’
बेलामा उपचार नभएको कारण पछि खुट्टो नै काट्न परेछ । पाँचसात वर्ष अघि पोखराको हरियोखर्क अस्पतालका खैरेहरुले खुट्टा हालिदिन्छन् भन्ने सुनेर आएको रहेछ । तर त्यो कुष्ठरोगको लागि मात्र काम गर्ने अस्पताल परेछ । रुखबाट खसेर काटेको खुट्टा हाल्न नमिल्ने । त्यसबेला देखि ऊ पोखराम नै बस्छ रे ।
‘खुट्टै जान परेपछि कुष्ठरोगले गा’ भए हुन्थ्यो नि हजुर, नक्कली त हालिदिन्थे ।’
फिस्स हाँसेर बखतवहादुरले भन्यो । त्यो परिस्थितिमा पनि रमाइलो गर्न सक्ने बखत साँच्चै नै वहादुर लाग्यो मलाई ।
अलि पर भर्खरै चार जोडी नेपालीहरु आए । उनीहरु छेउको हँसिलो, फरासिलो र मिजासिलो साहूजीको चिया पसलको बेन्चीमा बसे । उमेरले २० वर्ष पनि नपुगेका जस्ता लाग्ने सबैका अनुहार उन्मादले चहकिएको देखिन्छ । एउटा प्रश्न अचानक मनमा उब्जियो । घरमा के भनेर आएका होलान् यिनीहरु ? शैक्षिक भ्रमण ? वा कलेजको समूह भ्रमण ? वा हाम्रो समाज अब स्वच्छन्दताको बाटो तिर लम्किसकेको छ ?
छेवैको सार्वजनिक चर्पीबाट एउटा वहादुर फुत्त निस्क्यो । अगाडि बसेको कुरुवा र उसको अगाडि राखिएको ढ्वाङलाई नदेखेको जस्तो गरि अगाडि बढ्यो । त्यहाँ अँग्रेजीमा लेखिएको थियो,
डोनेट फर क्लिन ट्वाइलेट ।
शायद अँग्रेजी बुझ्दैनथ्यो त्यो मान्छे । कुरुवा आफूबाट परपर हुँदै गइरहेको मान्छेलाई हेरेर करायो,
‘दाइ पैसा......ओ दाइ.....पिसाब फेरेको पैसा भन्या.....ओ फलान्थोक्.....’
उसले अन्त्यमा त्यो मान्छे र उसकी आमालाई एकैपटक गाली गर्न भ्यायो । तर फलान्थोक् नसुने झैं गयो । शायद यस्तै कारणहरुले गर्दा होला क्लिन ट्वाइलेट क्लिन बाहेक अरु सबै थियो । दुइटा सानासाना खोर जस्ता शौचालयमध्ये एउटाको माथिसम्म आइपुगेको मलमूत्र अब बाहिर तिरै आउला जस्तो अवस्थामा देखिन्थ्यो । प्राकृतिक आवश्यकता रोक्न नसक्नेहरु त्यसैमाथि पनि थप योगदान गरिरहेका थिए । सामूहिक प्रयत्नले गर्न नसकिने कुरा के छ र ? यो प्रयत्नको परिणाम पनि अब धेरै टाढा थिएन भन्ने कुरा क्लिन ट्वाइलेटको वर्तमान अवस्थाले पुष्टि गरिरहेको थियो । एउटाको  थाप्लोमा लेडिज र अर्कोको थाप्लोमा जेन्ट्स लेखिएको थियो तर भालेपोथी दुबै जात जता पनि जाने आउने गरेर नारी पुरुष समानताको उल्लेखनीय उदाहरण कायम गरिरहेका थिए । एउटी कुइरी प्लाष्टिकको कपमा कालो चिया लिएर आफ्नो पालो कुर्दै थिई । ढोका खुलेर मान्छे निस्के पछि ऊ पोथी मयुर लच्के झैं अघि बढी । तर एक जना मान्छे खै कताबाट हो प्रकट भयो र सत्तरीको स्पीडमा उसलाई उछिनेर भित्र छि¥यो । आफ्नो पालो त्यसरी मिचिएकोमा ऊ जिल्ल परी । चारै तिर हेरेर कुम उचाल्दै ऊ बम्की,
‘ह्वाट् द फ.....।’
वरिपरिका मान्छेहरु फिस्स हाँसे । अब ऊ अझ नजीक सरेर बसी ता कि अर्को कुनै सुपर हिरो ऊ भन्दा पहिले छिर्न नभ्याओस् । पालो आएपछि हातमा भएको चियाको कप बोकेरै ऊ भित्र पसी । शायद उसलाई डर थियो उसको दश रुपैंया परेको जूठो चिया ऊ बाहिर आउँदा कसैले लिएर टाप ठोकिसकेको हुन्थ्यो । तीन मिनेट पछि बाहिर निस्कँदा पनि कप उसको हातमै थियो र त्यही चिया सुर्काउँदै ऊ एकातिर लागी ।
‘कति घिन पनि नलागेको होला यसलाई छ्याः’
एक जनाले प्वाक्क भन्यो, अरु दुईतीन जना हाँसे । अर्कोले होमा हो मिलायो,
‘यी खैरेहरुले आफूलाई जति सभ्य र सुघ्घरी भने पनि हामी त कमसे कम चर्पीमा बसेर खाने पिउने गर्दैनौं ।’
‘विन्डो सीट....विन्डो सीट.......’
यात्रु नपुगेको कुनै एउटा अर्को टुरिष्ट बसको कर्मचारी कराइरहेको थियो । इगो उसको बसको पनि त छ नि ।
मलाइ पनि चिया खान मन लाग्यो । फरासिलो साहूजीको पसल तिर जाँदा देखें, पिसाब फेरेर पैसा नतिर्ने फलान्थोक् पनि त्यहीं रहेछ । धन्य हो, आफू र आफ्नी आमालाई गाली खुवाएरै भए पनि उसले पूरै दुई रुपैंया बचाएको छ । थोपाथोपा मिलेर समुन्द्र बन्छ भन्ने कुरा उसले राम्ररी बुझेको रहेछ । भविष्यको करोडपति तात्तातो चियासंग क्रसँ उग्रयाइरहेको रहेछ । उसले चिया सुर्काउँदा निस्केको सुरुप्सुरुप् र क्रसँ चपाउँदाको च्याप्च्याप् आवाजलाई छेवैमा बसेको बूढो कुइरे बडो चाख मानेर सुनिरहेको थियो । ध्यान दिने हो भने मुख खोलेर चपाइरहेको उसको कुन बंगाराले कति प्रतिशत चपाउँदो रहेछ भनेर पनि हिसाब गर्न सकिन्थ्यो । त्यही बेला बखत वहादुर उत्साहित मुद्रामा आइपुग्यो । उसको अनुहारमा भएको चमक र ओठमा तनक्क तन्केको मुस्कान हेर्दा लाग्थ्यो कुनै उदारमना कुइरेले राम्रै हेल्प दिएको हुनुपर्छ ।  चिया र बम पाउरोटी मागेर सन्तुष्ट भावमा खान थाल्यो ।
सवा आठ बज्न लागेको रहेछ । मेरो बसले घ्यार्घ्यार गर्दै हर्न बजायो । म हतारहतार चिया सकेर त्यतै लम्कें । मुलाङ्खारेहरुले रद्द गरेको सात वटा सीट मध्ये पाँचवटा भरिएछ । बाँकी दुइ जना त बाटोमा टिप्न कसो नपाइएला भनी बसका कर्मचारीहरु कादेखि कानसम्म हाँसिरहेका थिए । बस अघि बढ्यो, मेरा पात्रहरु पछिपछि छुट्दै गए ।
हिमाल बेच्ने देखिएन । कुनै हिमाल बिक्यो कि बिकेन होला आज ? शायद कुनै अर्को हूल तिर छिरेको होला र मनमनै गाउँदै होला,
बिहान उठ्ने बित्तिकै, हिमाल बेच्न पाइयोस्...........

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment