बायाँ फन्को ९७
केही दिन अघिको कुरो हो । राति निन्द्रा नलागेर म टेलिभिजनका च्यानलहरु प्याट्प्याट् परिवर्तन गर्दै थिएँ । खेलकूदको एउटा च्यानलमा म टक्क अडें । त्यहाँ एउटा अचम्मको ‘खेल’ आइरहेको रहेछ ।
हुन त त्यससंग मिल्दाजुल्दा ‘खेल’हरु त मैले पहिले पनि नदेखेको हैन तर त्यो अरु खेलहरु भन्दा केही भिन्न थियो । एउटा रिंग बनाइएको थियो । अनि त्यो रिंगको वरिपरि र माथि चारैतिर तारको जालीले घेरिएको थियो । झट्ट हेर्दा चिडियाखानामा हिंश्रक जनावरहरुलाई राख्ने ठूलो खोर जस्तो देखिएको थियो त्यो ठाउँ । चारैतिर दर्शकहरु बसेका थिए र रिंगभित्र दुइजना ‘खेलाडी’हरु थिए । उनीहरुले एउटा कट्टु मात्र लगाएका थिए र एक आर्कामाथि खनिएका थिए ।
त्यो ‘खेल’मा लात्ताले, मुक्काले, कुहिनाले, टाउकोले र घुँडाले पनि एकआर्कालाई प्रहार गर्न पाइने रहेछ । कुस्ती खेलेको जस्तो लडाउन पनि पाइने रहेछ । मैले हेर्दाहेर्दै एउटाले अर्कोलाई भुइँमा लडाएर आफ्नो कुहिनाले उसको नाकमा हिर्काउन थाल्यो । ती दुबै ‘खेलाडी’ भनाउँदाहरु कुनै पनि हिसाबले मानिस जस्ता लागेनन् मलाई । उनीहरु हिंश्रक जनावर जसरी एकआर्कालाई झम्टिरहेका थिए, चोट पु¥याइरहेका थिए । कसले पहिले कसलाई घाइते बनाएर वा परास्त गरेर जितिने हो भन्नेमात्र उनीहरुको ध्याउन्न देखिन्थ्यो ।
शायद एकआर्कालाई चिन्दैन थिए, उनीहरुको कुनै वैमनुस्यता पनि थिएन होला । एउटाले अर्कोको केही हानि नोक्सानी पनि गरेका थिएनन् होला । तै पनि ‘खेल’को नाममा उनीहरु भिडिरहेका थिए । दर्शकका रुपमा उनीहरुलाई हौस्याउन र एकआर्कालाई अझ बढी पीडा दिन अरु मान्छे भनाउँदाहरु तातिरहेका थिए । पहिलेपहिले गाउँघरतिर भाले जुधाउने भनेर कुखुरा लडाउने चलन थियो । साँढे र भेडा जस्ता जनावरहरु पनि लडाउने चलन हुन्थ्यो । मेक्सिको तिर कुकुर लडाउने पनि चलन हुन्छ । बाजीका रुपमा, जूवाका रुपमा लडाइने यस्ता जनावरहरुलाई आक्रामक र हिंश्रक बनाउनका लागि नै पालिन्छ, त्यही अनुसार तालीम दिइन्छ ।
जनावर भनेको विवेकहीन प्राणी हो त्यसैले दायाँ बायाँ केही नसोची मालिकको तालीमलाई तामेल गर्छ । अर्कोमाथि जाइलाग्छ । तर मानिस त विवेकशील प्राणी हैन र ? कसरी मानिस चिन्नु न जान्नुका मान्छेलाई झम्टिन सक्छ ? कसरी आफू जस्तै अर्को मान्छेलाई घाइते बनाउन सक्छ, रगतपच्छे बनाउन सक्छ ? हुन त अरु धेरै खेलमा नचाहँदानचाहँदै चोट लाग्न सक्छ । तर बक्सिंग, जूडो, कराते, कुस्ती जस्ता खेलहरु र तिनका अनेकौं परिमार्जित रुपहरुको प्रमुख उद्देश्य नै अर्कोलाई सकेजति चोट पु¥याउनु हुन्छ । त्यस्तो खेलका लागि तयार पारिएका ‘खेलाडी’हरु र लडाउनका लागि तयार पारिएका जनावरहरुमा के भिन्नता रह्यो त ?
माइक टाइसनले इभान्डर होलिफील्डको कानै टोकेर खाइदिएको घटना अझै मान्छेले बिर्सेका छैनन् । यहाँ नेर एउटा अर्को बक्सिंग दुर्घटनाको कुरा गर्नु सापेक्ष हुन्छ । सन् १९८२मा डुक को किम नामक कोरियाली मुक्केबाज रे बुमबुम म्यान्चिनी भन्ने अर्का मुक्केबाजसंग भिड्दै थिए । यो खेलमा उनलाई विश्व बक्सिंग संघको लाइटवेट वर्गको आफ्नो उपाधि रक्षा गर्नु थियो । तेह्र चरण खेल हुँदा पनि कोही परास्त भएको थिएन । त्यो चरणमा किमलाई म्यान्चििनीले एकदुइ पटक मात्र हैन उनान्चालीस पटक सीधा र शक्तिशाली प्रहार गरेका थिए । तर पनि किमले हार मानेका थिएनन् । रेफ्रीले पनि खेल रोकेनन् । चौधौं चरणको सुरुमै किमको टाउकोमा म्यान्चिनीले दुइ शक्तिहाली प्रहार गरेका थिए । किम पछारिए, तै पनि दश गन्नुभन्दा पहिले उनी उठेका थिए । तर रेफ्रीले खेल रोके । किमलाई सीधै स्ट्रेचरमा हालेर अस्पताल लगिएको थियो । चार दिन पछि उनको मृत्यु भयो । त्यसको एक महीना भित्रै किमकी आमा र खेल संचालन गर्ने रेफ्री दुबैले आत्महत्या गरे ।
हुन त रिंगमा मर्ने किम पहिलो मुक्केबाज पनि थिएनन् र अन्तिम पनि हैनन् । तर बक्सिंगको इतिहासमा यसलाई निकै दुःखलाग्दो दुर्घटनाका रुपमा लिइन्छ । त्यसबेला यस्तो डरलाग्दो ‘खेल’लाई बन्द गर्नुपर्छ र यस्तो ‘खेल’को औचित्य के भन्ने स्वरहरु उठेका थिए । तर ती सबै नसुनिने कानमा मात्र परे । मान्छेको सम्वेदनशीलता हेर्नुस्, यस घटनापछि बाह्र चरण भन्दा बढी खेलाउन नपाइने भन्ने नियमसम्म चाहिँ बन्यो । मुक्केबाजीको इतिहास हेर्ने हो भने अरु थुप्रै त्रासदीपूर्ण घटनाहरु फेला पर्छन् । सन् २००५ मा बेकी जेर्नेल्टस रिंगमा मर्ने पहिलो महिला मुक्केवाज बनिन् । सन् २००७ सम्मको एउटा अपुष्ट आँकडाका अनुसार बक्सिंग खेल्दा चोट लागेर अहिलेसम्म पन्ध्र सयको हाराहारीमा मुककेबाजहरुको निधन भैसकेको छ । सन् २०११ मा नेपालमै पनि राजु बूढामगर नामक मुक्केबाजले रिंगमा चोट लागेर ‘खेल’का नाममा ज्यान गुमाए । उनी त्यतिबेला एक्काइस वर्षका मात्र थिए । अरु यस्ता भीडन्तमूलक ‘खेल’हरुमा पनि थुप्रै मानिसहरु मरेका छन् ।
हुन त त्यस्ता खेलसंग सम्वन्धित मानिसहरुले ‘खेल’को नाम दिएपछि त्यसलाई कलाको रुपमा व्याख्या नगर्ने त हैनन् र सोच्नुपर्ने कुरा के हो भने यो कस्तो कला हो जसले अरुलाई पीडा दिन्छ ? कलाले त मानिसको मनलाई शान्त बनाउनुपर्छ । मनस्थितिलाई थीर राख्न सघाउ पु¥याउनुपर्छ । तर माथि भनिएका खेलहरु हेर्ने दर्शकको मनस्थिति कहिल्यै घोरिएर हेर्नुभएको छ ? कति उद्वेलित हुन्छन् ती खेल हेर्ने दर्शकहरु पनि ?
तै पनि हामी थरिथरिका भीडन्तहरुमा मान्छेलाई लडाउने कामलाई ‘खेल’को रुपमा प्रवद्र्धन गर्छौं, त्यस्ता ‘खेल’हरु हेरेर रमाउँछौं । जति विकासको कुरा गरे पनि के हामीले अझै पनि आफ्नो भित्रको हिंश्रक जनावरलाई कहिले पनि जित्न नसकेका हौं त ?
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment