Translate

Friday, July 5, 2013

नागरिक दैनिकमा प्रकाशित अन्तर्वार्ता

‘यायावर’ उपन्यासको नाम मनप¥यो । यस शब्दको विराट अर्थ उपन्यासले बोकेको छ ? यो कसरी लेखियो ? 

यसको खाका मगजमा खेलिरहेको केही वर्ष भैसकेको थियो । तर आफ्नै पारामा अल्छी मान्दै लेखिरहेको थिएँ । तर अघिल्लो वर्ष अर्किड बुक्सका साथीहरुले एउटा उपन्यास प्रकाशन गर्नुप¥यो भनेर प्रस्ताव राखेपछि भने लेखाइले तीव्रता लियो । केही दिन पोखरा गएर गुप्तवास बसेपछि मात्र यसको प्रारम्भिक पाण्डुलिपी तयार भयो । 

पत्रपत्रिकामा त तपाईंका लेखहरू बिकिरहेकै देखिन्छ । र, नेपाली साहित्यको बजार बढीजसो फिक्सन शैलीका सामग्रीले पिटिरहेका छन् । फिल्म लेख्ने मान्छेको उपन्यासमा कतै फिल्मी फिक्सन हाबी भएको छ कि ? 

चलचित्र लेख्ने भनेको अरुका लागि हो । त्यो धेरै कुराले बाँधिएको, निर्देशित गरेको र धेरै हदसम्म प्राविधिक कार्य हो भने उपन्यास लेख्ने बेला लेखक स्वतन्त्र हुन्छ । चलचित्र लेखनको सीमा हुन्छ, निश्चित लम्बाइलाई ध्यानमा राखेर कथानक बुन्नुपर्छ । आफूलाई मन परेको भाषामा लेख्न पाइँदैन । तर उपन्यास लेख्ने भनेको त्यो भन्दा नितान्त फरक कुरा हो । असीमित स्वतन्त्रता पाइन्छ । त्यसैले यसमा र चलचित्र लेखनमा कुनै तुलना हुनै सक्दैन । 

‘लेखकले जे लेखे पनि वास्तवमा आफ्ना मनका कुण्ठा, भावना नै लेखेको हुन्छ’ भनिन्छ । कतै ‘यायावर’ पनि तपाईंको निजी भावना र भोगाइको पेटारो मात्रै बनेको त छैन ? 

त्यस्तो हुने हो भने त आत्मकथा लेखे भैहाल्यो नि । तर उपन्यासका लागि लेखिएको कथानक पनि वास्तविकता भन्दा पृथक र कसैले नदेखेको नभोगेको कुरा त हुन सक्दैन । लेखकले पात्र र घटनाहरु वास्तविक जीवनबाट नै टिप्ने हो । तर त्यसो भन्दैमा उपन्यासमा आफ्नै भोगाइ र भावना मात्रै त कुनै पनि लेखकले लेख्दैन जस्तो लाग्छ । त्यसलाई आफ्नो कल्पनाको ठेकीमा हालेर मथेर परिमार्जन गर्ने हुनाले यायावर पनि मेरो मात्र नभै मैले देखेका अरु मानिसहरुका पनि टुक्राटाक्री बटुलेर तयार पारिएको यथार्थमा आधारित काल्पनिक कथानक हो भन्नुपर्छ । 

‘यायावर’ तयार पार्न सामाजिक र राजनीतिक पाटोमाथि कत्तिको अध्ययन–अनुसन्धान गर्नुभयो ?

मैले पहिले लेख्दा मेरो मूल पात्रको उमेर ६० को हाराहारीमा  थियो र उसले आफ्नो विगतलाई कसरी केलाउँछ र सम्झिन्छ भन्ने प्रारुप थियो । तर लेख्दै जाँदा मलाई के लाग्यो भने म भन्दा पाको मानिसले के सोच्छ, कसरी सोच्छ, के देखेको थियो, के भोगेको थियो भन्ने कुरामा म वास्तविकता भन्दा पर हुन सक्छु । तसर्थ मैले उसको उमेर घटाएर ५० को हाराहारीमा ल्याएँ । त्यतिसम्म उमेरका मान्छेहरु मैले नजीकबाट देखेको, चिनेको र संगत गरेको पनि हुनाले मलाई सजिलो भयो । मैले आफैले पनि तीस वर्ष अघि देखेको समाज यसमा चित्रण गरेको छु । राजनीतिक कुरा यसमा खासै छैन । तर मेरो पात्र काठमाण्डौ आइपुग्दा ३६ सालको सेरोफेरो पर्ने भएकोले त्यसबेलाको राजनैतिक परिवर्तनका लागि भएको गतिविधिबाट उसलाई अलग राख्न नसकेर केही प्रसंगहरु जोडेको छु । त्यसका लागि भने अध्यययन गर्नु परेको थियो । त्यसबाहेक त्यतिबेलाको काठमाण्डौका केही अरु सामाजिक पक्षहरु छन्, जुन पढ्दा रमाइलो हुन्छ । यहाँ धेरै नभनौं कि ?  

लेखनका लागि प्रेरणा कहाँबाट पाउनुहुन्छ ?
अवलोकन । प्रेरणा कुनै एउटा निश्चित कुराबाट मात्र पाइन्छ भन्ने छैन । कहिले बाटोमा हिंड्दा हिंड्दै देखिएका कुराले, घटनाले, कतै पढेको कुराले, सुनेको प्रसंगले, बादलले, हुरीले र कुनै पनि कुराले प्रेरणा दिन सक्छ ।  
तपाईंको लेखन तरिका कस्तो छ ? सुरु गर्ने कुुुनै विषेश रित छ कि ?
त्यस्तो खासै यही भन्ने कुरा त छैन तर मेरो अधिकांश लेखन चाहिँ डायनिंग टेबलमा हुन्छ । मलाई त्यहाँमाथि ल्यापटप राखेर लेख्न सजिलो लाग्छ । समयको कुरा गर्दा चाहिँ रातको समयमा सबै जना सुतिसकेपछिको निस्तव्धता र चकमन्न मेरो लागि उत्पादक समय भएको मैले पाएको छु । अँ चिया र कफी चाहिँ खूबै चाहिन्छ मलाई लेख्नका लागि । 
आफुले लेखेको कुरा कत्तिको परिमार्जन गर्नुहुन्छ ?
परिमार्जन त गर्नैपर्छ । किनभने मानिस हरेक पल हरेक क्षण परिपक्व हुँदै गैरहेको हुन्छ भन्ने मेरो मान्यता छ । आफूले एक दिन अघि लेखेका कुरा अर्को दिन पढ्दा नै त्यसमा थपघट र परिमार्जन गर्ने ठाउँ भेटिन्छ । जति सक्यो पुनर्लेखन गरेको राम्रो हुन्छ । साहित्यको कुनै फर्मूला हुँदैन । हिसाबमा जस्तो दुइ र दुइ सँधै चार नै हुन्छ भन्ने छैन । साहित्यको जोडघटाउ कहिले कति हुन्छ कहिले । अनि यो भन्दा राम्रो लेख्न सकिन्न भन्ने सीमा पनि हुँदैन । तर कुनै न कुनै ठाउँमा चित्त नबुझाइ सुख्खै छैन ।  झन् बृहत आख्यानको कुरा गर्ने हो भने त एउटा लेखकले जीवनभर एउटै उपन्यासलाई नै पटकपटक लेखिरहे पनि परिमार्जन र पुनर्लेखन सकिंदैन । 
यायावरको प्रतिकृया कस्तो पाउनुभएको छ ? उपन्यास लेखनले निरन्तरता पाउँछ त ?
नब्बे प्रतिशत भन्दा बढी पाठकहरुबाट सकारात्मक प्रतिकृया पाएको हुनाले म वास्तवमै उत्साहित भएको छु । अधिकांश पाठकहरुको यायावरकी जुनेलीसंग प्रेम भएको छ । तर जुनेलीको कथा यायावरमा निकै थोरै छ । तसर्थ अब जुनेलीको तर्फबाट उसका भोगाइलाई अर्को कथानकमा बुन्ने खाका मगजमा बनेको छ । त्यसमा काम गर्न थालिसकेको छु । अर्को वर्षको अन्त्यसम्ममा जुनेली पनि पाठकहरुको बीचमा उपस्थित हुने सम्भावना छ । 


0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment