Translate

Monday, September 17, 2018

मात्र चार घन्टा

नयाँ पत्रिकाबाट,  धाराबाहिक आख्यान 'हराएको मनिस'को भाग १०

सर्वेश्वरले ट्वाँ परेर आफ्नो अगाडि बसेर बुङबुङ चुरोटको धुँवा उडाइरहेको भीमकाय प्रहरीलाई हेर्‍यो, जसले भर्खर मात्र उससँग १० लाख युरोको माग गरेको थियो। हुन त सर्वेश्वरका लागि त्यो सुनेरै आत्तिनुपर्ने रकम त थिएन। तर, पनि लातभियाको स्टेट प्रहरीको एउटा जुनियर लेफ्टिनेन्टले उससँग ढुक्कै त्यत्रो रकम माग गर्नुचाहिँ अनौठो कुरा थियो। ऊ आफ्नो छोरा राजेशको ड्रग्ससँगको आबद्धताको कुरा सुनेर नराम्ररी हल्लिएको थियो।
तर, सर्वेश्वर एउटा चतुर व्यापारी पनि थियो। पश्चिम नेपालको दुर्गम पहाडबाट शून्यदेखि जिन्दगीसुरु गरेर भारत र रुस हुँदै लाटभिया पुगेर अर्बपति बन्ने क्रममा उसले कठिनभन्दा कठिन परिस्थितिको सामना गरेको थियो। त्यसैले भित्रभित्र जति नै हल्लिए पनि बाहिर नदेखाउन उसलाई जिन्दगीले सिकाइसकेको थियो। अहिले पनि ऊ त्यही कलाको दक्षतापूर्वक प्रदर्शन गर्दै थियो। रिङमा आफू कमजोर भएको छनक मात्र पायो भने पनि प्रतिद्वन्द्वी दोहोरो आत्मबल र गतिले आक्रमण गर्न थाल्छ भन्ने कुरा उसलाई राम्ररी थाहा थियो। उसले भन्यो, 
‘त्यो रकम भनेको सानो होइन अफिसर।’


योहान्सले ठुटो भइसकेको चुरोटले नयाँ चुरोट सल्कायो। उसले अनुमति नमागी सर्वेश्वरको टेबलमा भएको नोटप्याडबाट एउटा पाना धर्र च्यात्यो। त्यसको सोलीजस्तो आकार बनायो र ठुटोलाई त्यो सोलीमा हालेर निभायो। अनि उसले भन्यो, 
‘म मान्छु, मिलियन युरो भनेको हामीजस्ताहरूका लागि सानो रकम होइन। हाम्रो तीन–चार पुस्ता सुध्रिन्छ त्यति पैसाले। तर, तपाईंका लागि त्यो कुनै अचम्मित पार्ने संख्या होइन। तपाईंको जे दाउमा लागेको छ, त्यसको अगाडि त झनै त्यति रकमको कुनै औकात छैन मिस्टर कोइराला। म यहाँ तपाईंसँग कुनै व्यापारिक सम्झौता गर्न आएको होइन। त्यसैले बार्गेनिङ गरेर बेकारमा किन आफ्नो अमूल्य समय खेर फ्याल्नुहुन्छ ? मेरो कुरा तपाईंलाई मन्जुर छैन भने सीधै भन्नुहोस्, म यहाँबाट जान्छु र मेरो पेसाको धर्मले जे भन्छ त्यही गर्छु। कुरा खतम।’
सर्वेश्वर सोचमग्न भयो। उसलाई थाहा थियो, लाटभियाको कानुनअनुसार लागुऔषध प्रयोगकर्तालाई पनि तीन–चार वर्ष कैद हुन सक्छ। हुन त त्यो उससँग कति मात्रामा त्यस्ता पदार्थ बरामद भएको हो भन्नेमा पनि भर पथ्र्यो। राजेश यदि त्यसको कुलतमा फसिसकेकै हो भने पनि अहिलेसम्म ऊ गिरफ्तार त भएको छैन। एउटा सप्लायरको डायरीमा उसको नाम उल्लेख भएको मात्रै आधारमा उसलाई कसैले सजाय दिलाउन सक्दैन भन्ने पनि सर्वेश्वरलाई थाहा थियो।
तर, उसलाई के पनि थाहा थियो भने यो कुरा बाहिर निस्क्यो भने त्यससँगै अनावश्यक चर्चा परिचर्चा र समाचार आउँछन्। समस्याको मूल चुरो आफ्नै घरभित्र छ। त्यसैलाई सम्बोधन नगरी अरु कुरा सोच्नु भनेको जरामा किरा लागेको बिरुवाको पातमा उपचार गरेसरह हुनेछ। अहिलेलाई यो लालची प्रहरीलाई चुप लगाउनु नै आफ्नो प्राथमिकता हो भनेर सर्वेश्वरले खुट्यायो। उसले भन्यो, 
‘एकछिनका लागि मानिलिऊँ, मैले तपाईंको कुरा मानेँ अफिसर। त्यसपछि के हुन्छ ?’
उसको प्रश्न यस्तै हुन्छ भनेर पहिले नै आश्वस्त भएर बसेको योहान्सले आँखा झिमिक्क पनि नगरी तत्काल उत्तर दियो, 
‘त्यो डायरीको कुरा अहिलेसम्म मबाहेक अरु कसैलाई थाहा छैन। मैले केस दर्ता गर्दा त्यसको कतै पनि उल्लेख हुँदैन। तपाईंले मलाई मेरो रकम दिनासाथ म त्यसलाई नष्ट गरिदिन्छु। अथवा, चाहनुहुन्छ भने तपाईंलाई नै ल्याएर दिन्छु। बाँकी कुरा  तपाईंको हातमा।’
सर्वेश्वर उठ्यो र केही सोच्दै गएर भित्ताभरिको सिसाबाट बाहिर हेर्न थाल्यो। ३० तला माथिबाट परपरसम्म लाटभियाका राजधानी रिगा र व्यस्त सडक भव्य देखिन्थे। यहाँ उभिएर बाहिर हेर्दा सर्वेश्वरलाई जहिले पनि यहाँसम्म पुग्न आफूले गरेका मिहिनेत र परिश्रमको सम्झना हुन्थ्यो। अनि उसलाई आफ्नो उचाइको गर्व हुन्थ्यो। तर, अहिले लाटभियाको सबैभन्दा अग्लो भवनको सबैभन्दा माथिल्लो तलामा उभिँदा पनि उसलाई आफू त्यो प्रहरी अफिसरभन्दा पुड्को भएको आभास भइरहेको थियो। उसले बाहिरै हेरेर प्रश्न गर्‍यो, 
‘तपाईं मसँग फेरि पटकपटक यस्तै माग लिएर आउनुहुन्न भन्ने म कसरी विश्वास गरूँ ?’
योहान्सको आँखामा आहत भएको भाव आयो। उसले सर्वेश्वरलाई हेर्दै दुःखी स्वरमा भन्यो, 
‘म ब्ल्याकमेलर होइन मिस्टर कोइराला। एउटा प्रहरी अफिसर हूँ। त्यसमाथि म चाहेर पनि तपाईंसँग फेरि यस्तो माग लिएर आउन सक्दिनँ। मेरो विश्वास गर्नुस्।’
सर्वेश्वर फिस्स हाँस्यो र भन्यो, 
‘विश्वास…? यो एउटा यस्तो शब्द हो अफिसर जसमाथि मलाई पटक्कै विश्वास छैन। विश्वास शब्दको आफैँमा कुनै अर्थ हुँदैन। तबसम्म, जबसम्म तपाईँ त्यसलाई प्रमाणित गर्ने कुनै आधार देखाउन सक्नुहुन्न।’
योहान्सले एकैछिन ठुटो भएको दोस्रो चुरोटलाई हेर्‍यो। अर्को सल्काऊँ कि नसल्काऊँ भनेर एकछिन गम्यो। केही सोचेर उसले त्यसलाई पनि कागजको सोलीमा हालेर निभायो र उठेर सर्वेश्वरतिरै गयो। ऊ पनि बाहिर हेर्दै बोल्यो,
‘ओके, मिस्टर कोइराला। मेरै मुखबाट सुन्न चाहनुहुन्छ भने सुन्नुहोस्। तपाईंको यो अफिस कति हाइ–टेक छ भन्ने मैले देखिसकेको छु। रेटिना स्क्यान नभई कोही तपाईंको बरन्डामा छिर्नसमेत सक्दैन। तपाईंको र मेरो भेटघाट र वार्तालाप कुनै हाई डेफिनेसन क्यामराले रेकर्ड गरिरहेको छ भन्ने कुरा बुझ्न कुनै ठूलो आइतबार छैन। मेरो उद्देश्य नराम्रो भएको भए यहाँ आएर यसरी स्पष्ट आफ्ना पत्ताहरू तपाईंसामु खोल्ने थिइनँ। मैले आफ्नो घाँटी तपाईंको मुठ्ठीमा राखिदिइसकेको छु। म आफ्नो कुराबाट एक इन्च पनि दायाँबायाँ भएँ भने कुनै पनि वेला निचोरिदिन सक्नुहुन्छ। अब यो प्रमाणित गर्न योभन्दा बढी म तपाईंलाई के प्रमाण दिऊँ मिस्टर कोइराला ?’ 
जुनियर लेफ्टिनेन्ट भनेर आफूले कम तौलेको त्यो मानिसबाट सर्वेश्वर प्रभावित भयो।
उसको कुरा सही थियो। सर्वेश्वरले निकै ध्यान दिएर त्यस मानिसलाई हेर्‍यो। कदकाठी भीमकाय भएको कारण भएकोभन्दा पाको देखिए पनि योहान्सको उमेर अठ्ठाइस या तीसभन्दा माथि थिएन भन्ने उसले लख काट्यो। यो मानिस लामो दौडको घोडा हो भन्ने उसलाई लाग्यो। उसले भन्यो, 
‘मलाई तपाईंको बैंक अकाउन्टको डिटेल दिनुहोस् अफिसर। म अहिले नै रकम त्यहाँ हालिदिन्छु।’
योहान्स हाँस्यो र भन्यो, 
‘तपाईं अझै मलाई तौलन खोज्दै हुनुहुन्छ मिस्टर कोइराला। मलाई भुक्तानी नगदमा चाहिन्छ। त्यो पनि प्रयोगमा आइसकेको पाँच–पाँच सयको दरको नोटका रुपमा। त्यसको बन्दोबस्त गर्न म तपाईंलाई चार घन्टाको समय दिन्छु। कहाँ र कसरी त्यसको डेलिभरी गर्ने भन्ने कुरा म तपाईंलाई त्यसपछि भन्छु।’
उसले खल्तीबाट एउटा सस्तो खालको सेल्युलर फोन निकाल्यो र सर्वेश्वरको टेबलमा राखिदियो। सर्वेश्वरले अचम्म मानेर योहान्सलाई हेर्‍यो। योहान्सले भन्यो, 
‘अबको चार घन्टामा यो फोनमा म तपाईंलाई कल गर्छु। हाम्रो बाँकी कुराकानी अरु कुनै माध्यमबाट हुनेछैन। गुड डे मिस्टर कोइराला।’
अनि योहान्स फुर्तिलो चालले उसको कोठाबाट बाहिर निस्केर गयो। सर्वेश्वर एकटक त्यो सस्तो फोनलाई हेरिरह्यो। उसले लामो सास फेरेर इन्टरकमको स्विच थिच्यो र नतालीलाई भन्यो, ‘इल्मार्सलाई पठाइदेऊ।’
इल्मार्स सर्वेश्वरको सुरक्षाप्रमुख, अंगरक्षक र विश्वासपात्र मानिसको नाम थियो। बाहिर नतालीले इल्मार्सलाई सर्वेश्वरको सन्देश दिएर फोन राख्दा सर्वेश्वरको क्याबिनबाट निस्केको योहान्स उसको अगाडिको बरन्डामा लम्किएर आउँदै थियो। योहान्स प्रसन्न देखिन्थ्यो। नतालीको अघि आइपुगेर उसले टाउको हल्कासँग झुकाएर अभिवादन गर्‍यो,
‘धन्यवाद।’
ऊ मनमनै सोच्दै थियो।
एक मिलियन युरो हातमा परेपछि कुनै दिन यो सुन्दरीलाई डिनरमा लैजानुपर्ला।
०००
इल्मार्स आफ्नो कोठामा आउनासाथ सर्वेश्वरले उसलाई भन्यो, 
‘दश लाख युरो, क्यास। त्यो पनि पाँच सयको प्रयोग भइसकेको नोटहरूका रुपमा। बढीमा तीन घन्टाभित्र।’ आफ्नो बोसको यो अप्रत्याशित माग सुनेर इल्मार्स आश्चर्यचकित भयो। तर, उसले त्यो भाव अनुहारमा आउन दिएन। उसले भन्यो, 
‘यति कम समयमा सर ? कसरी सम्भव…’ 
सर्वेश्वरले गम्भीर भएर अलि कडा स्वरमा भन्यो, ‘कसरी भन्ने तिम्रो टाउको दुखाइ हो। तिमीलाई मैले तलब दिने रिजल्टका लागि हो।’
इल्मार्सले जति नै लुकाउन खोज्दाखोज्दै पनि उसको अनुहारमा आहत भएको भाव आयो। किनभने यसअघि सर्वेश्वरले उससँग त्यस्तो छुच्चो मुख कहिले पनि गरेको थिएन। सर्वेश्वरलाई पनि यता भन्दाभन्दै आफ्नो त्यो अनावश्यक टिप्पणीमा पछुतो भइसकेको थियो। उसले आफूलाई नियन्त्रण गर्दै भन्यो, 
‘सरी इल्मार्स। कुरा अलि गम्भीर छ।’ 
इल्मार्सले भन्यो, 
‘केही छैन सर। म बन्दोबस्त गर्छु।’
ऊ सर्वेश्वरको अफिसबाट निस्कने वेला सोच्दै थियो, पक्कै केही गम्भीर समस्या परेको हुनुपर्छ। नत्र ऊ त्यस्तो मानिस होइन। समस्या के भन्ने कुरा आवश्यक परे उसले अवश्य पनि बताउला। नचाहिने प्रश्न सोध्ने इल्मार्सको काम थिएन। उसको काम आदेश मान्ने हो र मागिएको वेला सल्लाह दिने हो। ऊ आफ्नो काममा जुट्यो।
भनिएको रकम भनिएकै रुपमा उसले डेढ घन्टामै जोहो गरेर सर्वेश्वरलाई खबर गर्‍यो। अब सर्वेश्वरको सामु योहान्सको फोन कुर्नेबाहेक अरु केही काम थिएन। ऊ राजेशका बारेमा सोच्न थाल्यो। आफ्नो एक्लो छोरा कहिले र कसरी यस्तो खराब संगतमा लागेछ भन्ने थाहा नभएकोमा उसले त्यसदिन आफूलाई पटकपटक धिक्कार्‍यो। ठ्याक्कै चार घन्टामा योहान्सले छोडेर गएको फोन थर्थर गरेर काम्न थाल्यो। उसले देख्यो, 
‘ड्रागन कलिङ..’
सर्वेश्वरले फोन रिसिभ गर्‍यो र रकमको बन्दोबस्त भइसकेको जानकारी गरायो। योहान्सले भन्यो, 
‘रकम लिएर तपाईं सेन्ट पिटर्स चर्चमा आउनुस् मिस्टर कोइराला। त्यहाँ अगाडि फूलबारीनजिक तपाईंले एउटा सानो स्टलमा क्यान्डीहरू बेच्न बसेकी कपाल सेताम्य फुलेकी एक वृद्धा देख्नुहुनेछ। उसले निलोमा सेता फूलहरूको बुट्टा भएको कमिज लगाएकी हुनेछे। तपाईं ठीक ६ बजे त्यहाँ पुगेर उससँग समय सोध्नुहुनेछ। उसले तपाईंलाई नौ बजेर सत्ताइस मिनेट गयो भनेर गलत समय बताउँछे। त्यति भएपछि तपाईं रकम उसलाई सुम्पेर फर्किनुहुनेछ। तपाईं घर पुग्दा त्यो डायरी तपाईंलाई कुरिरहेको हुनेछ। तपाईंको समस्या खत्तम।’ 
उसले फोन काटिदियो।
योहान्सले भनेझैँ गरेर घर पुग्दा नभन्दै एउटा पार्सल उसलाई कुरिरहेको थियो। कोडमा लेखिएको डायरी र त्यसको ब्रेक गरिएको अर्थको प्रिन्ट आउट त्यहाँ थियो। योहान्सले भनेका सबै कुरा सही थिए। सर्वेश्वर जिन्दगीमा पहिलोपटक आफ्नो छोरालाई कुरिरह्यो। राजेश त आएन, तर राति साढे तीन बजे अस्पतालबाट उसको खबर आयो, 
‘मिस्टर कोइराला। तपाईं कृपया तुरुन्तै आउनुहोला। सकेजति छिटो प्लिज।’
क्रमशः

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment