केही वर्ष अघि नेपाल साप्ताहिकको मेरो स्तम्भ बायाँ फन्कोमा प्रकाशित
फेरि एकपटक दशैं आएर गयो।
तर यसपटक दशैंमा दुर्गा दिदीलाई साह्रै नरमाइलो भयो। हुन त उनलाई यस पालिको दशैंमा नातागोताहरुकहाँ जाँदा कतै पनि कुनै पनि कुरामा कसैसंग अप्ठ्यारो मान्नु पर्ने थिएन। अघिल्लो साल उनको र उनको परिवारको लागि फलिफाप भएको थियो। केही महीना अघि उनको एक्लो छोरो जेहेन्दार छात्रवृत्तिमा विदेश पढ्न गएको थियो। उनका श्रीमानको व्यापारमा पनि यसपटक बेस्सरी नाफा भएको थियो। त्यसैले खास गरि डल्ली फूपुकहाँ टीका लगाउन जाँदा पनि धक फुकाएर जान पाइने भयो भनेर उनी दंग थिइन्। डल्ली फूपु अरुलाई च्वास्स घोच्न, आफ्नो डम्फू बजाउन र अरुलाई तल पार्न खप्पीस थिइन् त्यसैले उनकहाँ टीका थप्न जानेहरु सतर्क भएर मात्र जाने गर्थे। उनी आफूबाहेक अरु कसैको प्रगति देख्न नसक्ने नारी हुन् भन्ने कुरा उनको बोली र व्यवहारले सबैलाई पटकपटक देखाइसकेको हुँदा पनि दशैंमा औपचारिकताका लागि जानै पर्छ भन्ने बाध्यताले अरु नातागोताहरु डल्ली फूपुकहाँ निधार थाप्न जाने गर्छन्।
दुर्गा दिदी पनि त्यही औपचारिकता पूरा गर्नका लागि गएकी थिइन्। डल्ली फूपुका विदेशी परियोजनामा काम गर्ने छोरी ज्वाईहरु पनि त्यहाँ थिए। कुरै कुरामा डल्लीले दुर्गा दिदीको छोराको कुरा निकालिन्। दुर्गा दिदीले पनि गर्वसाथ आफ्नो छोराले पूर्ण छात्रवृत्ति पाएर विदेश गएको कुरा सुनाइन्। डल्ली फूपुकी छोरीले आफ्नो पनि छोरा अब अमेरिका जान लागेको बताइन्। मानौं त्यहाँ विदेश गएका छोराछोरीको कुनै प्रतिस्पर्धा हुन लागेको होस्। कसको छोरा गएको राज्य अलि ठूलो, वा कलेज अलि नाम चलेको जस्ता कुराहरुबाट पनि जब त्यहाँ हारजीत नहोला जस्तो भयो, अनि डल्ली फूपूले टाइ ब्रेकर निकालिन््,
“आफ्नो त छोरी ज्वाई दुबै विदेशी परियोजनामा काम गर्ने, बेस्करी डलरमा खान्छन्। कुन मुखले छात्रवृत्ति माग्नु? लाजै हुन्छ त्यो त भनेर आ होस् भनेर यिनीहरुले त आफ्नै खर्चमा पढ्ने गरि पठाएका हाम्रो बाबुलाई, हैन त ज्वाइंसाप?”
डलर खाने ज्वाईंले पनि गजक्क फुलेर सहमतिसूचक टाउको हल्लाए। दुर्गा दिदी अमीलो मन लिएर फर्किन्। ए लेभलमा ९० प्रतिशत भन्दा बढी अंक ल्याएर जेहेन्दार छात्रवृत्ति पाएको आफ्नो छोरालाई परेको भए आफ्नै खर्चमा पठाउन नसक्ने त उनीहरुपनि थिएनन् नि। दुर्गा दिदीलाई लाग्यो, जब एकआर्काप्रति कुनै सद्भाव नै छैन भने वर्ष भरि एकआर्काको खोजी नगर्नेहरु यो दशैंको नाममा चाहिँ किन भेटघाट गर्नु।
प्रकाश दाइलाई लौ त भने घर जाने कुरा सम्झेर नै दिक्क लागेको थियो। काठमाण्डौ बाहिर जाने गाडीहरुको मारामार, कलंकी देखि नौबिसे सम्मको जाम र बाटोको झन्झट सम्झंदा त उनलाई कहीं नगएर सुतेर बस्न मन लागेको थियो। तर पुख्र्यौली घरखेतको अंशवण्डाको कुरा चलिरहेको बेला आफू दशैंमा घर गएन भने फेरि भाइको तराजु बढी भारी होला कि भन्ने पीरले गर्दा पनि यसपटक त उनलाई दशैंमा घर नगइ हुँदै हुँदैनथ्यो।
रविन्द्र काकालाई पनि दशैं सुरु भएदेखि नै एक किसिमको तनाव थियो। पोहोर साल सम्म त दुइटी छोरी र श्रीमतीलाई मोटरसाइकलमा हालेर झ्याल्टुङ पार्दै सबै मान्यजनहरुकहाँ पुग्न भ्याएका थिए उनले। तर यसपटक ठूली छोरी हलक्क बढेकी छ। चारजना मोटरसाइकलमा जाने प्रश्न नै आउँदैनथ्यो। दशैं आउनु अघि पत्रपत्रिकाहरुमा नयाँ पुराना गाडीहरुका आकर्षक विज्ञापनहरु हेरेर निकैपटक उनले हिसाबकिताब गरेका थिए। जे सुकै होस्, यसपालि त एउटा चारपाङ्ग्रे लिनै पर्ला कि क्या हो। तर उनले आँट गर्न सकेनन्। त्यसैले दशैंमा काठमाण्डौका चारकुना तिर फैलिएका आफन्तहरुकहाँ धाउनु उनका लागि कष्टकर अनुभव रहन गयो। भनेको बेला भनेको ठाउँमा ट्याक्सी नपाउने, पायो भने पनि तिनले मागेको भाडा सुन्दा चिटचिट पसीना आउने। कहिले यो चार दिन सकिएला र अफीस जान थाल्न पाइएला भन्दै उनले पनि औपचारिकता पूरा गरे।
अर्का एक थरि परिवार छन्। लौत भनौं भने सबै दाजुभाइ एकै थलोमा बसेको चार पुस्ता भयो। त्यसैले नाता हेर्दा निकै पर पुगिसके पनि नजीकै जस्तो लाग्छन्। संगैसंगै बसेका कारण एउटाको आन्द्राभुँडी अर्कोलाई थाहा हुन्छ। परेको बेला एउटालाई सघाउने बेलामा बहान बनाइबनाइ पन्छिए पनि प्रगति गर्न लागेकोलाई खुट्टा तानेर पछार्ने अवस्थामा चाहिँ बाँकी दाजुभाई अचम्मसंग एकजूट हुन जानेका हुन्छन्। एक वर्ष अघि माइलाको खलकले सुरु गरेको व्यापार फस्टाएर हेर्दाहेर्दै उनीहरु निकै सम्पन्न भएका थिए। उनीहरुले सबै भन्दा पहिले त एउटै ठूलो कम्पाउण्डमा भएका आफ्ना तीन घरलाई १२ फीटको पर्खाल लगाएर अरु दाजुभाइसंग छुट्याएका थिए। अरु दाजुभाईहरु चाहिँ तराइमा भएको सबैको भाग लाग्ने पुख्र्यौली मौजा उनीहरुले जालझेल गरेर एकलौटी बनाएर यो व्यापारमा लगानी गरेका हुन् भनेर पाखुरा सुर्कीसुर्की उफ्रेका थिए। कुनै खासै सबूतप्रमाण भएको भए बाँकी दाजुभाइहरुले मुद्दा पनि हालिसकेका हुन्थे। तर त्यो गर्न नसकेको भडास काईंला खलकका एक जनाले हर रात भने जस्तो निकाले। टन्न रक्सी खाएर आएपछि उनी पर्खालमा उभिएर सुन्न समेत लाज लाग्ने शव्दहरुका साथ माइला खलकलाई भाइमारा, शोषक, पापी र अत्याचारी भनेर गाली गर्थे। हर रात भने झैं उनले माइला खलकको नाश होस् भनेर सराप्ने गरेका थिए। तर दशैंमा तिनै माइला खलककाहरु टीका थाप्न आएका बेला उनले दुर्गा भवानीले उनीहरुको अझ बढी प्रगति र उन्नति गरुन् भन्दै निधारमा टीका टाँसिदिए, कानमा जमरा सिउरीदिए।
त्यसबाहेक पनि कसैलाई दक्षिणाको चापले, कसैलाई ठूलो परिवारको लुगाफाटो र खानपीनको जोहोले, अनि कसैलाई भ्याइनभ्याइ आउने आफन्तहरुको सेवासुश्रुषा र कामको लठारोले गर्दा दशैं चाँडै सकिए हुन्थ्यो जस्तो भयो। अनि आयो दशैं ढोल बजाइ, गयो दशैं ऋण बोकाइ भन्ने उखान सार्थक पार्दै दशैं आफ्ना पाइलाका डोबहरु छोडेर गयो। कसैले कसैलाई केही भन्नु पर्दैन तर हामी आफैले आफैलाई नढाँटी भन्ने हो भने कतिजनाले सही अर्थमा बिना कुनै औपचारिकता साँचो मनले सदभाव बाँडेर दशैं मनायौं त?
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment