Translate

Thursday, March 21, 2024

मेरा दक्षिण भारतीय मातापिता 

 सन् २०१८ । बैंग्लुरु माथिको आकाश, नेपाल एयरलाइन्सको जहाज । 

बैंग्लुरुको क्याम्पेगोडा विमानस्थलमा अबको केही बेरमा हामी अवतरण गर्दै छौं भन्ने परिचालिकाको यान्त्रिक स्वरले यात्रुहरू जुर्मुराउन थाले । मैले पनि आङ र गोडा इकोनोमी सिटको परिधिले अनुमति दिनेसम्म तन्क्याएँ । विमानको उडानको उचाइ घट्दै थियो । म यसभन्दा अघि नआएको बैंग्लुरु सहर देखिन थाल्यो ।मलाई नजन्माएका बा-आमा

नयाँ ठाउँमा हवाईजहाज ओर्लनुअघि झ्यालबाट बाहिर हेर्नु रमाइलो हुन्छ । म तलको क्रमशः ठूलो हुँदै गएको विशाल सहरलाई हेर्दै सोच्न थालें, यति ठूलो सहरमा कहाँ होला मेरो अम्मा अप्पाको घर ?

अम्मा अप्पा । दक्षिण भारतीयहरूले आफ्ना आमा–बाबुलाई अम्मा अप्पा भन्ने गर्छन् । म मेरा अम्मा–अप्पालाई भेट्न बैंग्लुरु आएको छु । मेरा दक्षिण भारतीय मातापिता । तपाईंहरूलाई अचम्म लाग्यो होला, मातापिता पनि कसरी दक्षिण भारतीय, उत्तर भारतीय, नेपाली वा अरू केही हुन्छन् भनेर । तर, हुँदा रहेछन् ।

मेरा तिनै अप्पालाई केही दिनअघि अचानक हृदयाघात भएको थियो । उनीहरू अमेरिकामा भएका आफ्ना केही नातेदार भेट्न जान सबै तयारी गरिसकेको अवस्थामा थिए । कति धेरै उत्साहित हुँदै उनीहरूले आफ्नो योजना सुनाएका थिए भिडियोकलमा । यस्तो अवस्थामा अम्मा–अप्पा अचानक आइपरेको विपत्तिले थलिएका थिए । अप्पाको बाइपास शल्यक्रिया गरियो । अब निकै लामो समय उनी यात्रा गर्न नसक्ने भए । म ताक्छु मूढो– बञ्चरो ताक्छ घुँडो भन्ने उखान त्यसै बनेको होइन । हामी भोलि, पर्सि, अर्को हप्ता, महिना वा कैयौं वर्षको योजना बनाउँछौं । तर, हामीलाई अर्को पलमा के हुन्छ भन्ने पनि थाहा हुँदैन । अप्पा केही दिन अस्पताल बसेर घर फर्किसकेका छन् । त्यसैले म उनलाई हेर्न बैंग्लुरु आएको छु ।

कसरी म रिटायर्ड कर्नल विश्वेशरण गणपति र प्रोफेसर लक्ष्मी गणपतिले नजन्माएको छोरा बनें भन्ने कुरा बुझ्न एक वर्षअघि पुग्नुपर्छ । आउनुस् न त, टाइम मेसिनमा बसेर केही पछाडि यात्रा गरौं मसँग । फुर्सद छ नि हैन ? यसै पनि आज त शनिबारै हो ।

सन् २०१७ । अमृतसर शताब्दी रेलको वातानूकुलित २ टियर ।

तपाईंहरूलाई पत्यार लाग्छ कि लाग्दैन कुन्नि, मलाई आजसम्म तीनवटा स्थानमा पुग्दा मनमा चरम शान्तिको अनुभव भएको छ । ती तीनवटा स्थानबाट मलाई फर्किनै मन लागेको थिएन । यस्तो लागेको थियो, यो जुनिको स्थायित्व भनेको नै यही ठाउँ हो । म सबै कुरा छोडेर, बिर्सेर अब यहीं नै बसूँ । बाँकी जिन्दगी यही ठाउँमा त्यो परमशक्तिको साधना वा आराधना गरेर बिताऊँ, जसलाई मानिसहरू आ–आफ्नो धार्मिक आस्था अनुसार थरीथरी रूपमा मान्छन् । पहिलो स्थान सिक्किमको गान्तोकपारि डाँडामा रहेको रुम्तेक गुम्बा थियो । त्यहाँको चिसो सिंगमरमरको चिसो भुइँमा स्वतःस्फूर्त रूपमा लमतन्न परेर लड्दा मैले अपूर्व आनन्द र शान्ति अनुभव गरेको थिएँ । दोस्रो स्थान काठमाडौंको जामे मस्जिद थियो । एक दिन लहडै लहडमा म त्यहाँ नमाज पढ्न गएको थिएँ । मलाई त्यहाँ पनि परम शान्तिको अनुभूति भएको थियो । तेस्रो स्थान अमृतसरको स्वर्ण मन्दिर । त्यहाँभित्र छिर्नासाथ त्यहाँको भव्यता, अलौकिक वातावरण, माइकमा कसैले सुरिलो स्वरमा गाइरहेको अमृतवाणीको आवाजले मलाई एकाएक अर्कै संसारमा पुर्‍याइदिएको थियो । तर, ती तीनै स्थानबाट मेरो नियतिले मलाई डोर्‍याएर बाहिर निकाल्यो । डोर्‍याएर ? या गलहत्ती लगाएर ?

जे होस्, स्वर्ण मन्दिर मेरा लागि एक अविस्मरणीय अनुभव बनेको थियो । त्यहाँ रहुन्जेल मेरो मगजमा सन् ८२ को कुख्यात अपरेसन ब्लू स्टार पनि फन्फनी घुमेको थियो । यति पवित्र र शान्त स्थानमा त्यतिबेला भारतीय सेनाले खालिस्तान स्वतन्त्र आन्दोलनका नेता जर्नेल सिंह भिन्द्रावाले र उनका समर्थकहरूलाई कब्जा गर्न ठूलो सैन्य कारबाही गरेका थिए । सेना, आन्दोलनकारी र आम तीर्थ यात्रीहरू सयौंको संख्यामा हताहत भएका थिए । राज्यका लागि आतंककारी ती आन्दोलनकारी सिखहरूका लागि सहानुभूतिका पात्र थिए । हुन पनि हो, सही र गलत भन्ने कुरा आफू कुन ठाउँमा बसेर हेरिन्छ त्यसमा भर पर्छ । आफैंमा केही सही वा गलत हुँदैन । एउटाका लागि सही कुरा अर्कोका लागि गलत हुन्छ । सिखहरू आफ्नो श्रद्धाको केन्द्रमा भएको बर्बरतापूर्ण आक्रमणबाट आहत भएका थिए ।

फलतः ब्लू स्टारको पाँच महिनापछि त्यस अपरेसनलाई आदेश दिने तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको उनकै दुई सिख अंगरक्षक सतवन्त सिंह र बियन्त सिंहले हत्या गरिदिए । त्यसबाट भड्किएको दंगामा भनिन्छ १७ हजारको हाराहारीमा सिखहरूको हत्या भयो । भारतीय इतिहासको यो कालो पाटो थियो । म एकातिर स्वर्ण मन्दिरको अहिलेको वातावरणबाट मुग्ध भइरहेको थिएँ भने अर्कोतिर अपरेसन ब्लू स्टारको भयावह गोलाबारीको कल्पनाले मात्रै पनि उद्वेलित भइरहेको थिएँ । एकैपटक यी दुई चरमविपरीत भावहरूको ज्वारभाटाको रोटेपिङमा मच्चिनु आफैंमा अनौठो अनुभव हुँदो रहेछ । सिखहरूको ठूलो तीर्थ थलो त्यही हरमन्दिर साहेब अर्थात् स्वर्ण मन्दिर पुग्ने मेरो पुरानो रहर थियो । त्यही पुरानो रहर पूरा गरेर म अमृतसरबाट दिल्ली फर्किन लागेको थिएँ ।

अपरिचित स्थानहरूमा यात्रा गर्दा म जहिले पनि समयभन्दा पहिले नै रेलवे स्टेसन वा विमानस्थल पुग्न रुचाउँछु । त्यसको दुई वटा फाइदा हुन्छ । कुनै किसिमको समस्या वा अलमल भयो भने मसँग समय हुन्छ । केही भएन भने वरिपरिको वातावरण, जीवन र मानिसहरू हेर्दै कल्पना गर्नुको रमाइलो एउटा लेखकले मात्रै बुझ्दछ होला । कहिले नयाँ पात्र भेटिन्छन्, कहिले नयाँ कथा । यस पटक त नयाँ सम्बन्ध भेटिने रहेछ । त्यति बेलासम्म के थाहा ! त्यस दिन पनि म पहिले नै आफ्नो डिब्बा र सिट पहिल्याएर बसिसकेको थिएँ अनि झ्यालबाट बाहिर स्टेसनको गतिविधि नियाल्दै थिएँ । त्यही बेला केही बर्दीधारी सैनिक जवान पोकापुन्तुरा बोकेर मेरो अगाडिको सिटमा आए र थन्कोमन्को गर्न थाले । उनीहरूको हाकिम जस्तो एउटा युवा उनीहरूलाई सामान यता र उता राख्न आदेश दिँदै थियो । मलाई लाग्यो, यस पटक भारतीय सैनिकहरूसँग यात्रा हुने भयो ।

हाकिम बाहिरतिर गयो र केही क्षणमा ७० वर्षको हाराहारीका एक दम्पतीलाई साथ लिएर आयो । जवानहरू सामान थन्क्याएर बाहिर गइसकेका थिए । ठूलो अफिसर मात्रै बाँकी थियो । उसले त्यो दम्पतीलाई आदरसाथ सिटमा विराजमान गरायो । उनीहरू बीचबीचमा केही अंग्रेजी मिसाए पनि एकापसमा मूलतः मद्रासीमा कुरा गरिरहेका थिए । तमिल, तेलगु, कन्नड वा मलयालम जेसुकै किन नहोस्, दक्षिण भारतीय भनेपछि हाम्रा लागि सबै मद्रासी । भाषा पनि– मानिस पनि । अरू केही नबुझे पनि मैले लख काढें, ती दम्पती पक्कै उसका आमा–बाबु हुनुपर्छ । उसका अम्मा–अप्पा । मलाई त्यतिखेर थाहा थिएन, दिल्ली ओर्लने बेलासम्म उनीहरू मेरा पनि अम्मा–अप्पा बन्नेछन्, जो केही समयपछि मलाई भेट्न काठमाडौं आउनेछन् । अनि अप्पालाई हृदयाघात भयो भनेर आत्तिँदै म बैंग्लुरु पुग्नेछु ।

रेलले हिँड्ने बेला भएको संकेत दियो । भारतीय रेलको समयबारे धेरै व्यंग्य लेखिएका छन् । तर, अचेल त्यसमा बिस्तारै सुधार आउन थालेको रहेछ । भनेकै समयमा रेल हिँड्न लागेको थियो । सैनिक अफिसर आफ्ना अम्मा–अप्पालाई ढोगेर बाहिर निस्क्यो । रेल एउटा लामो चिप्लेकीरा जसरी घिस्रिन थालेको थियो । सैनिक प्लेटफर्मबाट रेलको झ्यालनिर आयो । उनीहरू अझै रहलपहल कुरा गर्दै थिए । रेलले बिस्तारै गति लिन थाल्यो । त्यसैको अनुपातमा ऊ प्लेटफर्ममा केहीबेर सँगसँगै हिँड्यो, केहीबेर लम्कियो र अन्त्यमा रेलको गतिसँग हार मानेर अडिएर हात हल्लाउन थाल्यो । उसका बाबु–आमाले पनि उसलाई देखुन्जेल हात हल्लाए ।

केहीबेर पछि सारा कुरा पछाडि छुटे । म आफ्नै धुनमा थिएँ । बूढा आँखा चिम्लेर सिटमा टाउको अड्याइरहेका थिए । बूढी भने यताउति हेर्न थालेकी थिइन् । बल्ल उनको आँखा आफ्नो सहयात्रीमा पर्‍यो । उनले स्नेहिल मुस्कानसहित मलाई हेरिन् । म पनि मुसुक्क हाँसें । बूढाले आँखा खोले र आफ्नी श्रीमतीलाई केही भने । उनीहरू खड्याङखुडुङ आफ्नै भाषामा कुरा गर्न थाले । म पनि झ्यालबाट बाहिर हेर्न थालें ।

रेलको यात्राको रमाइलो भनेकै एउटै डिब्बामा लामो यात्रा गर्दा कुराकानी नगरुँ भने पनि आफैं कताकताबाट सुरु हुन्छ । अप्पा त्यति वाचाल थिएनन् । घुप्प परेर बसिरहेका थिए । तर, बूढी भने हेर्दै ममतमयी देखिन्थिन् । निधारमा ठूलो रातो टीकाले उनलाई उज्यालो बनाएको थियो । कुराकानी साधारण तरिकाले नै अघि बढ्यो । अम्मा मसँग अंग्रेजीमा बोल्न थालिन् । म कहाँ जान लागेको ? म कहाँको मान्छे ? म के गर्छु ? अम्माका प्रारम्भिक प्रश्न बर्सिन थाले । मैले पनि छोटोमीठो उत्तर दिन थालें । म नेपाली हुँ भन्ने थाहा पाएर उनी अझ बढी उत्सुक भइन् र भारतको यात्रामा मलाई सबैले भन्ने कुरा नै भनिन्, ‘बेटा, यू डन्ट लुक लाइक अ नेपाली ।’

भारत र बाहिर अन्य मुलुकका मानिसका लागि नेपालीको एउटा विशेष छवि छ । नेपाली मानिस कस्तो हुनुपर्छ भन्ने उनीहरूको आफ्नै मान्यता छ । त्यससँग नमिल्दो अनुहार नेपालीभन्दा उनीहरूलाई अचम्म लाग्छ । अप्पा सुरुमा खासै बोलेनन्, मुसुमुसु औपचारिक मुस्कान मात्र दिइरहे । तर, अम्माको बोलीको गतिले रेललाई उहिले नै जितिसकेको थियो । अम्मामा एउटा अचम्मको आकर्षण थियो । यति धेरै र बढी बोल्थिन् उनी, तर पनि त्यो झिँजोलाग्दो पटक्कै थिएन । म उनीसँगको वार्तालापमा रमाइलो मान्न थालें । अम्मा अंग्रेजी पढाउने प्रोफेसर रहिछन् । केही समयअघि मात्र अवकाश लिएकी । उनलाई पुर्‍याउन आउने सैनिक अधिकारी कर्नेल रहेछन्, उनीहरूका सुपुत्र । अनि अप्पा पनि भारतीय सेनाको अवकाश प्राप्त कर्नेल नै रहेछन् । मैले हाँस्दै भनें, ‘तपाईं त पटक्कै रिटायर्ड कर्नेल जस्तो लाग्नुभएन मलाई ।’ उनले अलि उत्सुक भएर सोधे, ‘किन र ? कस्तो हुनुपर्छ रिटायर्ड कर्नेल ?’

मैले भनें, ‘न त अहिलेसम्म तपाईं ठूलो स्वरमा बोल्नुभएको छ, न एक पटक ब्लडी हेल् भन्नुभएको छ । तपाईं रिटायर्ड कर्नेल भनेर म कसरी पत्याऊँ ?’ यस पटक भने उनी मज्जाले नै हाँसे र भने, ‘यो उत्तर भारतीय सिनेमाले हाम्रो हुँदै नभएको छवि बनाइदिएको छ ।’

हुन पनि हो, हामीले हिन्दी सिनेमाहरूमा जहिले पनि रिटायर्ड कर्नेलको एउटा विशेष चरित्र चित्रण देखेका हुन्छौं । मनको सच्चा भए पनि बोलीवचन कडा, ठूलो स्वरमा बोल्ने, झनक्क रिसाउने, पिकक्याप लगाउने, बातबातमा बन्दुक निकालेर ताक्ने र सबैभन्दा ठूलो कुरा त ब्लडी हेल् भनिहाल्ने । सात–आठ घण्टाको यात्रामा मैले उनको सैनिक जीवनका विभिन्न रोचक कुरा लगायत कारगिल लडाइँको अनुभव सुनें । उनकी श्रीमतीबाट त उनीहरूको वंश, खानदान, साथीभाइ लगायत सबैबारे जानकारी पाउन भ्याएँ होला । हामी नयाँदिल्ली स्टेसनमा आइपुग्ने बेलासम्ममा निकै घनिष्ट भइसकेको थियौं ।

‘हामीलाई अम्मा–अप्पा भन तिमी । हाम्रो छोरा कार्तिक र तिम्रो उमेरमा खासै फरक पनि रहेनछ,’ यति स्नेहले दिएको आदेश कसरी पालना नगर्नू । इमेल साटासाट भयो । रेल दिल्ली पुग्यो । अम्मा–अप्पा अब सम्पर्कमा रहने वाचा गर्दै एकातिर लागे, म अर्कोतिर ।

काठमाडौं–नियमित जिन्दगी

यात्रामा यस्ता घटनाहरू भई नै रहन्छन् । यस्ता झुक्किएर भेट भएका यात्रुहरू केही छिन वा केही सम्झनाका पर्दामा चल्मलाउँछन् । मानिस आफ्नो जीवनको भागदौडमा व्यस्त हुन्छ, प्राथमिकतामा पर्ने अरू कुराहरूको खातमा ती यात्रुहरूले एकअर्कालाई बिर्संदै जान्छन् । तर, यस पटक त्यस्तो भएन । तेस्रो दिन नै अप्पाको इमेल आयो । मैले पनि तुरुन्तै जवाफ पठाएँ । अनि हाम्रो बीचमा स्काइपको आईडी पनि आदानप्रदान भयो । परिस्थितिले अलग्याएर दुई फरक सहरमा बसेका परिवारका सदस्य जसरी हामी केही दिनको अन्तरालमा भिडियोमा कुराकानी गर्न थाल्यौं । हामीबीच अनौठो आत्मीयता झनै प्रगाढ हुँदै गयो । उनीहरू कहिले पनि नेपाल आएका थिएनन् । नेपालसँग उनीहरूको अरू कुनै पनि साइनो थिएन । मैले उनीहरूलाई नेपाल आउने निम्तो दिएँ । एक दिन नभन्दै अप्पाले भने, ‘ल है त अर्को महिनाको २२ गतेको टिकट काटेका छौं ।’

नभन्दै अम्मा–अप्पा काठमाडौं आए । म एयरपोर्टमा उनीहरूलाई लिन गएँ । उनीहरू हाम्रो परिवारसँगै घुलमिल भएर बसे । उनीहरू हाँस्दै सुनाउँथे, ‘जब हामीले रेलमा भेटेर छोरा बनाएको मान्छेले बोलाएर नेपाल जान लागेको खबर सुनायौं, हाम्रा छोराछोरी, नातागोता र साथीहरूले हामीलाई पागल भन्ठानेका थिए ।’ दस–बाह्र दिन आफूले नजन्माएको छोराको घरमा बसेर अम्मा–अप्पा बैंग्लुरु फर्किएका थिए । ‘हामी त आयौं, अब तिमीहरूको पालो,’ उनीहरू करकर गरिरहन्थे । जाउँला भन्दाभन्दै मिलिरहेको थिएन । अम्मा–अप्पा अमेरिकाबाट फर्केपछि चाहिँ जसरी पनि जाने योजना बन्दै थियो । अप्पालाई हृदयाघात भइदियो ।

बैंग्लुरु

एयरपोर्टबाट मैले लिएको उबर बैंग्लुरु सहरका सडकहरू छिचोल्दै अम्मा–अप्पाको घर भएको ह्वाइटफिल्ड भन्ने इलाकातिर बढिरहेको थियो । म सोच्दै थिएँ, सम्बन्धहरू सधैं रगतले वा जन्मले मात्र बन्छन् भन्ने कहाँ हुँदोरहेछ र ? सोच्दै नसोचेको ठाउँमा, सोच्दै नसोचेको बेला रगतभन्दा बलियो र गाढा नाताहरू जोडिँदा रहेछन् । त्यसैको ज्वलन्त उदाहरण अम्मा–अप्पा हुन् । उबर फोयर इन्फिनिटी नामको अपार्टमेन्ट भवनको कम्पाउन्डभित्र छिरेर रोकियो । आफ्नो सुटकेश गुडाउँदै म भित्रतिर लागें । टावर बीको दोस्रो तल्लाको अपार्टमेन्ट २०५ मा अम्मा–अप्पा बस्छन्– मेरा दक्षिण भारतीय मातापिता ।

प्रकाशित : फाल्गुन २६, २०८० ०९:३७

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment