इलामबाट फोन गरेर एक दिन कवि विमल वैैद्यले उर्दी जारी गरे,
‘फलानो दिन, फलानोे स्थान, ढिस्कानो समयमा मेरो चौथो कविता सङ्ग्रह विमोचन हुँदैैछ । एउटा कविता तपाईँले वाचन गर्नुपर्छ । पुस्तक आजभोलि नै तपाईँको हात पर्छ, आफूले पढ्ने कविता आफै छान्नू ।’ मलाई यो मिठो आदेशले पुलकित बनायो । किनभने विमल वैद्यका पहिलेका कविताहरु पनि मैले पढेको छु । । उनका कविताहरु अत्यन्त साह्रै हिस्सी परेका हुन्छन् । ती मध्ये कुनै एक विमोचनको दिनमा वाचन गर्न पाउनु मेरा लागि अवसर नै थियो । पुस्तक हात पर्यो, पटकपटक त्यसमा भएका कविताहरु पढें । अब पर्यो फसाद । तिनमध्ये एक छान्नु त मेरा लागि फलामको च्यूरा चपाएभन्दा गाह्रो पो भयो । हुनेभए हरेक कविता नैै वाचन गरौं जस्ता थिए ।
कुनै पनि कविको चौथो कविता सङ्ग्रह प्रकाशित हुनु आफैले नै लाखौं शव्द बोल्छ । किनभने त्यसले बताइरहेको हुन्छ, कवि आफ्नो कर्ममा कति दत्तचित्त छन्, अनुशासित छन् र निरन्तर छन् । हिमालको उँचाइबाट न्यानोसङ्गै पग्लेर कञ्चन पानी जसरी ओरालो झर्दै आफ्नो शीतलताले उष्ण र जर्जर जमीनहरुलाई सिंच्दै, असंख्य खोलानालाहरुसंग मिस्सिँदै, आफूलाई तिनमा समाहित गर्ने क्रममा सिक्दै–सिकाउँदै, भावना र अनुभूतिहरु साटासाट गर्दै महासागरमा समाहित हुँदै फेरि वाफ बनेर उँचाइहरु छुँदै, अनन्त नभमा बिस्तारित भएर त्यहाँबाट विहंगम दृष्टिगोचर गर्दै परपर–कुनाकुनासम्मका मिहिनभन्दा मिहिन कुराहरुलाई देखेर, वादल जस्तो आवारा बनेर बरालिँदै पुनः कहिले वर्षका थोपा र कहिले हिउँका कणहरु हुँदै फेरि अल्गा पहाडहरुमा तिनलाई छर्दै स्थापित हुने पानीको जस्तो निरन्तर यात्रा गर्न सक्ने थोरै यायावरहरु हुन्छन् । तिनैमध्ये एक यायावर कवि हुन् कवि विमल वैद्य । सही अर्थमा भन्ने हो भने कविताका साधक, कविताका प्रेमी । कविताप्रति असाध्य धेरै अनुशासन, आशक्ति र अनुराग नभइ उनले लेख्नेजस्ता सुन्दर कविताहरु लेख्न सकिँदैन ।
कतिपय साधकहरु यस्ता हुन्छन् जसले आफ्नो साधनालाई अरु जिम्मेवारी र भूमिकाहरुबाट उम्किनका लागि प्रयोग गरेका हुन्छन् । एकलकाँटे र एकलव्यजस्त एकसुरे साधकहरु पनि प्रशस्तै हुन्छन् । यस अर्थमा साधक भनेको एकप्रकारको एकोहोरो जोगी हो भन्ने पनि मान्यता स्थापित भएको हुन्छ । तर आफ्ना दायित्व र भिन्न सामाजिक भूमिकामा खरो हुँदाहुँदै पनि साहित्यको निरन्तर साधना गर्न सकिन्छ भन्ने कुराको उदाहरण चाहिँ विमल वैद्य हुन् । विमल आफ्नो कर्मक्षेत्रमा भिन्नभिन्न भूमिकाहरुमा उत्तिकै सफल व्यक्तित्व हुन् । त्यति हुँदाहुँदै पनि कवितालाई प्रेम गर्न नछोडी कविता आरोहणको क्रममा उनले चौथो शिविरमा क्याम्प गाडेका छन् । र, ‘युगको तटमा उभिएर’ त्यो क्याम्प हो । यो आलेख विमलको कविता सङ्ग्रहको समीक्षा होइन । कवितालाई प्रेम गर्ने एउटा साहित्य अनुरागीको मनमा उक्त सङ्ग्रहले ल्याएको छालहरुको आवाजलाई लिपिवद्ध गर्ने सानो प्रयास मात्रै हो ।
विमलको यस सङ्ग्रहको प्रमुख विशेषता भनेको एक कविका रुपमा उनको आफ्नै आरोहको स्पष्टता हो– उनको विकासक्रम हो । अघिल्ला तीन कविता सङ्ग्रहमा उनले पाठकहरुलाई प्रभावित पारेका थिए भने चौथो सङ्ग्रमा उनले पाठकहरुलाई अचम्भित बनाएका छन्–मन्त्रमुग्ध बनाएका छन् । यसैले उनको अनुशासनलाई स्पष्ट्याएको छ । ‘युगको तटमा उभिएर’ विमलले कविताहरुको पुस्तक लेखेका होइनन्– ‘तस्बीह’ उनेका हुन् । ‘तस्बीह’– अर्थात् प्रार्थना गर्नेबेला प्रयोग गरिने माला । त्यसैले त यसमा समावेश भएका हरेक कविता पढ्नेहरुका लागि प्रार्थनाजस्तै पवित्र र गहिरा लाग्छन् । यसका लागि विमलले भावनाको समुन्द्रको मरियाना ट्रेन्चसम्मै डुबुल्की लगाएका छन् र बटुलेर ल्याएका छन् अठतीसवटा अनमोल मोती । अनि तिनैलाई उनेका छन् शैलीको धागोमा । त्यसरी तयार भएको छ, ‘युगको तटमा उभिएर’ । प्रार्थनाको सबैभन्दा ठूलो विशेषता नै के हो भने दोहो¥याइ–तेहे¥र्याइ गर्दा पनि त्यो पुरानो लाग्दैन । झनै नयाँ लाग्छ, झनै गहिरो लाग्छ । विमलका कविताहरु पनि त्यस्तै लाग्छन् मलाई । एउटा खोलाको तटमा उभिँदा भन्दा समुद्रको तटमा उभिँदा देखिने क्षितिज निकै फराकिलो हुन्छ । एउटा थुम्कोमा उभिँदा भन्दा अल्गो पहाड वा हिमालमा उभिँदा देखिने क्षितिज अझै विशाल हुँदो हो । अब आफै कल्पना गर्नुस्, युगकै तटमा उभिँदा कति बिशाल र फराकिलो क्षितिज देखिन्छ होला ? युगको तटमा उभिँदा दृष्टिभित्र कति कुराहरु अटाउँछन् होला ? एउटा कविले युगको तटमा उभिँदा कस्तो अनुभूति गर्छ होला ? अझ हाम्रो पुस्ताको कुरा गर्ने हो भने विश्वविकासको तीव्रता पनि यो पुस्ताले जति अरुले कहाँ देखेको होला ? अनि एउटा सिङ्गो युग नै अग्रगमनको नाममा खेर फ्यालेर देश नै पछि परेको पुस्ता पनि यही होला । त्यतिमात्र नभै आर्थिक, प्राकृतिक, राजनीतिक र सामाजिक परिवर्तन अनि विचलन, यति बृहत भोगाइ र देखाइ अरु पुस्ताले देखेको थिएन । त्यो देखाइ, त्यो भोगाइका अंशहरुलाई विमलले आफ्ना कविताहरुमा समाहित गरेका छन् । त्यसको ज्वलन्त उदाहरण सङ्ग्रहको पहिलो कवितामै पाउन सकिन्छ–‘आगो बर्सिरहेको समयछेउ’ । त्यसको पनि पहिलो हरफमै,
‘चुहिने भाँडोमा बोकेर विचार
उनीहरु
क्षितिजमा सुनौलो घाम देखाइरहेछन् ।’
यो सशक्त र प्रतीकात्मक उद्घाटनले पाठकहरुलाई पाना पल्टाउँदै जाँदा पाइने खुराकका लागि तयार पारिदिन्छ । आठ राउण्डसम्म खेल्न पाइने मुक्केबाजीको खेलमा कुनै मुक्केबाजले पहिलो राउण्डमै ‘सकर–पन्च’ प्रहार गरेजसरी विमलले आफ्नो अभिव्यक्तिको शक्ति देखाएका छन् । मलाई थाहा छैन यो जानेर–बुझेर, छानेर–सोचेर राखिएको क्रमको परिणाम हो वा कुनै निर्दोष र उदेकलाग्दो संयोग । जसै तपाईँ अरु कविताहरु पढ्न थाल्नुहनेछ, तिनले तपाईँलाई आफूमा यसरी चर्लुम्मै डुबाइदिन्छन् मानौं त्यही नै पल प्रणय दिवस हो र यी कविताहरु तपाईँका प्रेमी वा प्रेमिका हुन् । कुनै सिर्जनासङ्ग प्रेम हुनका लागि ती आफैमा प्रेम विधाकैै हुनुपछै भन्ने छैन । कुशल कविले तपाईँलाई पीडासँग पनि प्रेम हुने बनाइदिन सक्छ, मृत्युलाई पनि प्यारो बनाइदिन सक्छ । घाट कविता त्यसैको एउटा उदाहरण हो । कवि लेख्छन्,
पर्खिरहेको हुन्छ घाटले सधैँ
मान्छेको अन्त्य
त्यसै दिनदेखि
जुन दिन
ऊ बाबुको पौरुषबाट सिञ्चित भएर
आमाको गर्भमा बास बसेको थियो ।
उनको शैली सरल र स्पष्ट छ । उनका कविताहरुमा विम्व, भाव र लक्षणहरु यति सहज रुपमा आउँछन्, तिनका प्रभाव कहिलेकहीं त तपाईँलाई कविता पढेको धेरै बेर वा धेर्रै दिनपछि पनि अनुभूत हुन सक्छ । त्यसको अर्थ के हो भने कहीं पनि, कतै पनि, कुनै पनि कुरा लादिएका छैैनन्, कोचिएका छैनन् र नचाहिने मात्रामा तिनको अत्याधिकता पनि छैन । क्लिष्टतालाई कविताको मानक नमान्ने विमलका कविताहरुमा पाइने अर्को रोचक पक्ष के हो भने, कविताका विषय हुनै नसक्ने भन्ने कुराहरुमा पनि उनले दिमाग हल्लिने कविताहरु कोरिदिएका छन् । ‘शिव ठाकुरःएक पोट्रेट’, ‘म उही विष्णु नवीन हूँ’, ‘दाहिने खल्तीको पर्स’ र ‘खाली शीशी पुराना कागज’ त्यसका उदाहरणहरु हुन् । उनका कविताहरुमा अनुरागका कुराहरु छन्, समर्पणका कुराहरु छन्, अनि विछोडका पीडा पनि त्यति नै सशक्त छन्,
‘छोडिजानेहरुका रहर बढी हुँदो हो,
छोडिजानेहरुको सहर अर्कै हुँदो हो ।’
समग्रमा विमलका कविताहरु अनुशासित छन् । तिनले कविताको मर्म र गरिमालाई कहीं कतै पनि आँच आउन दिएका छैनन् । आफ्नै परिवेश र समयको वरिपरि रहेर खोजिएका विषयहरु कविता बनेका छन् । युगको तटमा उभिँदा अलि परपरका कुराहरु पनि देखिएका होलान् तर कविले बडो चतु¥याइँका साथ टाढाका कुराहरुलाई पन्छाएर नजीकका कुराहरु लेखेका छन् । त्यसैले तिनले पाठकलाई छुन्छन् । शैलीको त कुरा गर्नै परेन, अहिलेका पुस्ताका सशक्त कविका रुपमा आफूलाई विमल वैद्यले त्यसै उभ्याएका हैनन् । मलाई अलिकति कमी खट्किएको चाहिँ दुइटा कवितामा मात्र हो । ‘तिमी नहुँदा’ । आफ्नी जीवनसङ्गिनीसँगको क्षणिक वियोगमा व्यक्त अभावका पीडाहरुमा अलिकति पितृसत्तात्मक सोच हावी भएको हो कि भन्ने लाग्छ । उनको अभाव खट्किने जुनजुन कुराहरुलाई विमलले जोड दिएका छन्, ती सबै एक पुरुषले आफै गर्न नसक्ने थिएन । जीवनसङ्गिनीको महत्व र अभाव तीभन्दा बढी महत्वपूर्ण कारणहरुका लागि बुझिदिएको भए अझ गज्जव हुन्थ्यो कि ? व्यक्तिगत रुपमा उनलाई चिन्ने भएकाले होेला, अर्को कविता ‘स्कूल जाने छोरालाई’ पढ्दा पनि मनमा लागिरहन्छ, एक छोरी र एक छोेराका कवि पिताले स्कूल जाने छोरीका लागि पनि एउटा कविता लेखिदिएको भए क्या खास्सा हुन्थ्यो होला ।
जे होस्, समग्रमा भन्दा ‘युगको तटमा उभिएर’ नेपाली कविताको एउटा कोसेढुङ्गा हो भन्न चाहिँ कञ्जूस्याइँ गर्नुपर्दैन । विमल वैद्यका कविताहरु सशक्त हुनुको कारण ती हाम्रै वरिपरिका कुराहरुबाट उम्रिएका छन् । स्वैरकल्पनाको नाममा अलमलिएर सम्राटको नयाँ लुगा खोज्नुपर्ने साहित्यको गुण्टा उनले बाँधेका छैनन् । अनि सिर्जनात्मक छुटका नाममा खाँदिएका बोझिला शव्दका ठेलीहरु पनि उनले कसेका छैनन् । तै पनि तिनले थोरै र स्पष्ट अभिव्यक्ति मार्फत् बोल्नपर्ने जति प्रशस्तै बोलेका हुन्छन्,
‘गोप्य कोेठामा
मुसाले बिरालो व्याउँछ
आलुको बिउमा अम्रिसो फल्छ ।’
चैत्र १०, २०८० अन्नपूर्ण पोष्टमा प्रकाशित