अस्तिको हप्ता बल्ल बल्ल २ लिटर पेट्रोल पाइयो, त्यो पनि कालोबजारमा।
१०० रुपैंया लिटरको पेट्रोललाई २०० रुपियाँ तिरेर किन्नुपर्दा लौ त भन्ने हो भने मेरो चित्त पनि दुखेको थियो। रुखमा फल्दैन पैसा र आफूले मेहेनत गरेर कमाएको पैसा त्यसरी खर्च गर्नुपर्दा म खिन्न पनि भएको थिएं। तर आवश्यकताको अगाडि केही लागेन। पेट्रोल नपाउन थालेदेखि मैले आजकल कतै जानै छोडेको छु। पहिले पहिले केही साथीहरु मिलेर शुक्रवार शनिवार हुनै हुन्नथ्यो कतै न कतै लामो यात्रामा हिंडिहाल्थ्यौं हामी। अहिले त घरबाट अफीस, अफीसबाट घर, टाप लगाएको घोडा जस्तो भइसकेका छौं हामीहरू सबै। यता उति कतै जानै पर्ने भयो भने किलोमिटरको हिसाब गरेर चुकचुकाउनु पर्ने भएको छ।
आज एक जनाले बढी मोल नतिरिकनै ५ लिटर पेट्रोल मिलाइदिएका छन्। त्यो लिनको लागि मलाई जान आउन गरेर ३० किलोमिटर जति लाग्छ तर पनि मलाई तिनी भगवानले माथिबाट पठाइदिएका कुनै दिव्यपुरुष जस्तो लागे। ओहो, ५ लिटर पेट्रोल त्यो पनि परल मोलमा?
जिन्दगीमा हरेक कुरामा पनि हामी यस्तै हुन्छौं। सम्वन्धका कुरामा पनि यही त लागू हुन्छ। सजिलोसंग आरामले पाएको मायालाई पनि हामी पहिले पहिलेको पेट्रोल जस्तै गर्ने गर्छौं। तर जब त्यसको अभाव हुन थाल्छ अनि मात्र हामी त्यसको महत्व बुझ्ने गर्छौं। तर भावना, स्नेह, प्रेम र सम्बन्ध त अझ झन् कालो बजारमा बढी पैसा तिरेर पनि पाइंदैन। त्यति जान्दाजान्दै पनि किन हामी सजिलोसंग पाएको कुराको महत्व नबुझ्ने मूढ हुन्छौं ?
हेरौं त एकपटक हाम्रो वरिपरि नियालेर, भोलि महत्व बुझेर चुकचुकाउनु पर्ने कति त्यस्ता सम्बन्धहरुको कतै आज हामी बेवास्ता त गरिरहेका छैनौं?
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment