बायाँ फन्को ७१
यस पटक त काठमाण्डौंमा पनि हिउँ पर्ला जस्तो छ ।
कार्तिक नसकिंदै ह्वात्त बढेको जाडोले गर्दा अहिले मानिसहरु उत्साहित भएर यो चर्चा गरिरहेका भेटिन्छन् । महीना पन्ध्र दिन पछि बाकस खोतलौंला भनेर बसेकाहरुले धमाधम न्यानो लुगाहरु झिकिसकेका छन् । मानिसहरु यस पटक काठमाण्डौमा मज्जाले हिउँ पर्ने भयो भनेर खुसी भएका छन् । धेरै जमघटमा यो चर्चा भएको पाइन्छ आजकल । यस पटक त कस्सो हिउँ नपर्ला त काठमाण्डौमा । अधिकांश मानिसहरुलाई हिऊँको प्रतीक्षा छ । केही समय अघि न्यू योर्कमा पनि अक्टोवर महीनामा नै हिउँ प¥यो । आफ्नो नियमित चक्रमा मात्रै हिंड्ने र भरपर्दो मानिएको प्रकृतिका नियमहरु समेत आजकल उटपट्यांग हुन थालेका छन् । जलवायु परिवर्तन वा अरु जेसुकैका कारण किन नहुन्, पहिलेको जस्तो छैन आजकल । नपर्ने बेलामा पानी पर्न सक्छ, नहुनेबेला जाडो हुन सक्छ । केही पनि हुन सक्छ ।
हो, सुन्दा बडो रोमाञ्चक लाग्छ हिउँ पर्ने कुरा । आकाशबाट फुसफुस सेता सुन्दर हिमकणहरु झरेको र आफ्नो वरिपरि सबै कुरा सेताम्य भएको दृश्य कल्पनामा कति सुन्दर लाग्छ । तर हामीले हेक्का नगरेको कुरा के हो भने, कुनै पनि अप्रत्याशित परिवर्तनका अरु पाटाहरु पनि हुन्छन् । ती सबै पाटाहरु सुखद र आनन्ददायक हुनै पर्छ भन्ने चाहिँ छैन । सुन्दा, तसवीरमा हेर्दा वा कल्पना गर्दा रमाइलो लाग्ने कुराहरु भोग्दा अर्कै पनि त हुन सक्छन् । त्यस्तै काठमाण्डौंमा हिऊँ पर्नुका पनि अरु पाटाहरु नभएका होइनन् । तर्कको कुरा गर्दा काठमाण्डौमा हिउँ नपर्नु पर्ने हो । हुन त आजकल मौसम अकल्पनीय हुन सक्छ । त्यसैले एकै छिनको लागि मानौं, काठमाण्डौमा यस पटक साँच्चै नै मज्जाले हिउँ परेछ रे । त्यो पनि एकदुई फीट । के हाम्रो कल्पनामा जति नै मनमोहक हुन्छ होला त त्यो अवस्था ? हिउँको काव्यात्मक सौन्दर्य पक्षलाई मात्र नहेरि त्यसको व्यावहारिक पक्षलाई पनि केलाउने हो भने मात्र थाहा हुन्छ, हामी भारी हिमपातका लागि तयार छैनौं । हाम्रा भौतिक संरचनाहरु त्यस अनुपातका छैनन् । अधिकांश घरहरुमा छड्के परेको भिरालो छानो छैन । समतल र समथर छानाहरुमा भारी मात्रामा हिऊँ जम्यो भने त्यसलाई खनेर फ्याल्नका लागि हामीसंग घरघरमा औजारहरु छैनन् किनभने त्यो हामीले नभोगेको अवस्था हो । त्यसको आवश्यकता हामीलाई अहिलेसम्म परेको छैन । बाटाघाटाका हिऊँ पन्छाउने कुनै उपाय हाम्रो नगरपालिकासंग छैन । सवारी साधनहरुमा त्यस्तो अवस्थामा सुरक्षित भएर गुड्ने टायरहरु पनि छैनन् । हिमपातबाट बच्ने आधारभूत उपायहरु नै नहुँदा पनि हामी हिऊँ परोस् भन्ने ‘रोमाण्टिसिज्म’ मा रमाउँछौं ।
हिउँको कुरा त एउटा उदाहरण मात्र हो । हामी हरेक अस्वाभाविक कुराहरुमा किन यति धेरै रमाउँछौं ? हुनु नपर्ने कुराहरु भैदिए हुन्थ्यो भन्ने हाम्रो चाहना किन यति बलियो छ ? केही समय अघि देखिको घटनाक्रमहरुलाई नियालेर हेर्ने हो भने र हाम्रो आम मानसिकताको सूक्ष्म अवलोकन गर्ने हो भने लाग्छ, हामी द्रूत र अस्वाभाविक परिवर्तनप्रेमी हौं । परिवर्तनको चाहना अस्वाभाविक कुरा हैन, सबैमा हुन्छ । परिवर्तन प्रकृतिको नियम हो । तर परिवर्तन केका लागि, कहिले र कस्तो भन्ने कुरा पनि सोच्नुपर्ने कुरा हो । परिवर्तनको पनि समय हुनुपर्छ । नवीनतामा रोमाञ्चको खोजी गरेर हामीले कतै स्थायित्व भन्ने कुरालाई चाहिँ पाखा लगाइरहेका त छैनौं ? हरेक कुरामा द्रुत परिवर्तन र तुरुन्त परिणाम खोज्नु हुँदैन । गर्भधारण गरेपछि पनि नौ महीना नकुरी त सन्तानप्राप्ति हुँदैन नि । त्यस्तै हरेक कुराका आआफ्नै अवधि हुन्छन् । त्यही अनुसार धैर्य त गर्नु नै पर्छ । सबै भन्दा बढी हामी राजनीतिक परिवर्तनमा उत्साहित हुने गरेका छौं । पछिल्लो केही समयमा कति सरकार बने, कति सरकार परिवर्तन भए ? आगामी दिनमा कति अरु परिवर्तन हुने छाँट छ ? एउटा सरकार बन्नासाथ अर्को कसको नेतृत्वमा कहिले र कसरी परिवर्तन गर्ने भन्ने कुराको समीकरणहरु सुरु हुन थाल्छन् । मानौं हामीले सभासदहरुलाई भोट नभै एउटा म्यूजिकल चेयर भन्ने खेल उपहार दिएका हौं र उनीहरुको त्यो खेल खेलेर हाम्रो मनोरञ्जन गरिरहेका छन्, हामी माथि कृपा गरिरहेका छन् । यही आलोपालोको नेतृत्व र प्रधानमन्त्रीको नामको लर्कोमा आफ्नो नाम राख्ने लोभमा आजसम्म ओथारोमा भएको सम्विधानका लागि कति परिवर्तनहरु भए ? तिनले गर्दा हाम्रो मुलुकको यात्राको गति कम भयो, योजनाहरु बन्न सकेनन्, नीतिनियमहरु लागू हुन सकेनन्, भएकाहरुको पनि प्रभावकारी कार्यान्वयन हुन सकेन । हरेक क्षेत्रलाई यो कछुवाचालले झन्झन् पछाडि पार्दै लग्यो । यी व्यर्थका रोमाञ्चले हामीलाई एउटै पनि दंग पर्ने कुरा दिएको छैन । आज कुनै पनि क्षेत्रमा विश्वको दाँजोमा हामी कहाँ छौं भनेर सोच्नुपर्ने अवस्थामा हामी पुगेका छौं । यसको पछाडि अरु कूटनीति र राजनीति त अवश्य छ तर हाम्रो द्रुत परिवर्तन, कुनै चीजबाट चाँडै अघाउने बानी र अस्थीर मानसिकता पनि त्यत्ति नै जिम्मेवार छ कि त ? लामो प्रतीक्षापछि जनताले सही समयमा पाएको एउटा परिवर्तनको रुखमा समय नै नदिई रातारात फल लाग्ने र पाक्ने आशा गरेका त छैनौं हामीले ? कतै हामीले आत्ममूल्याँकन गर्ने बेला भएको त हैन ?
हिउँको उदाहरण जस्तै दूरगामी प्रभाव नकेलाइकनै हामी नयाँ कुराको रोमाञ्चमा अलमलिएका छौं । हो, प्रयोग र गलतीबाट पनि मानिसले संसारमा धेरै कुरा सिकेको छ तर त्यस्ता प्रयोग कुन कुरामा गर्ने वा नगर्ने भन्ने कुरा तर्कको तराजुमा पहिले राम्रोसंग तौलन सक्नु नै वुद्धिमत्ता हो । परिवर्तनको कुरा गर्ने हामीले सानासाना कुराहरुमा चाहिँ ध्यान दिएका छैनौं । सामाजिक परिवर्तन नभै सत्ता परिवर्तन मात्रले मुलुक उँभो लाग्न सक्दैन । सामाजिक परिवर्तनका लागि व्यक्तिगत परिवर्तन जरुरी हुन्छ । हाम्रो सोच, आनीबानी र मानसिकतामा पनि परिवर्तनको खाँचो छ । हामीले अझै बाटोमा थुक्न छोडेका छैनौं, ट्राफिक नियम पाएसम्म मिचेका नै छौं । बाटोमा लगेर घरको फोहोर हुत्याउन छोडेका छैनौं । भ्याट छल्न छोडेका छैनौं । फेला नपरी र वाध्य नभै आयकर पनि तिर्दैनौं । कतै लाममा लाग्नु हामीलाई इज्जत जानु हो भन्ने लाग्छ । नियमकानून भनेको कोही नभएकाहरुका लागि हो भन्ने सोच्छौं । घूसै खाएर अकूत सम्पत्ति जोड्नेलाई पनि कमजोर आर्थिक अवस्था भएको वुद्धिजीविलाई भन्दा बढी आदर गर्छौं । अनि हामी नै ठूलाठूला कुराहरु गर्छौं । मुलुकका कति जनता शिक्षा र स्वास्थ्य जस्ता कुराबाट वञ्चित छन्, कतिपय विकट जिल्लामा मानिसहरु वर्षका थुप्रै महीना अन्नको मुख देख्न पाउँदैनन् । तर हामी नेपाली सङ्गीतमा मोज्जार्ट जन्मेनन्, सिनेमाले स्कोर्सिज जस्ता निर्देशक जन्माएन, कलामा पिकासो पैदा भएन, मिस नेपालले यसपटक पनि ताज जित्न सकिनन्, खेलकूदमा संसार थर्काउन सकिएन, राजधानीमा मेट्रो रेल चलेन र नेताहरुले देश डुबाए भनेर चिन्ता गर्छौं । डुबाएकै हुन् भने पनि तिनलाई त्यो अधिकार, शक्ति र मौका हामीले नै दिएका हैनौं र ?
आशा गरौं, यसपटक काठमाण्डौंमा हिमपात नहोस् ।
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment