आज २३ अप्रिल, विश्व पुस्तक दिवस । ७ कक्षामा पढ्ने बेला मैले चोरेको पुस्तकको कुरो, सान्दर्भिक होला कि त ? कान्तिपुरको कोसेलीमा केही समय अघि प्रकाशित संस्मरण
पुस्तक मेला, २०७०, भृकुटी मण्डप
परैबाट देखें, एजुकेसनल बुक हाउसका अञ्जन श्रेष्ठ आफ्नो स्टलको अगाडि उभिएर केही मान्छेहरुसंग गफ गरिरहेका थिए । अचानक मलाई बेलाबेला सम्झिने र बेलाबेला बिर्सने गरेको एउटा पुरानो कुरा सम्झना आयो । म मनमनै केही निर्णय गरेर उनी भए तिर लम्कें । मलाई आफू तिर आइरहेको देखेर उनी मुस्काए । उनले केही भन्नु अघि नै मैले खल्तीबाट एउटा सय रुप्याँको नोट निकालेर उनलाई दिंदै भने,“अञ्जनजी, पैंसठ्ठी रुप्याँ फिर्ता दिनुस् ।”
उनी हक्कनबक्क परे । त्यो नोट नलिएर अचम्म मान्दै मलाई हेरेर सोधे,
“लौ, किन नि ?”
“लिनुस्न खुरुक्क अनि फिर्ता दिनुस् ?” मैले कर गरें ।
कुनै ठट्टा भन्ठान्दै उनले त्यो सय रुप्याँ खल्तीमा हालेर मलाई पैंसठ्ठी रुप्याँ फिर्ता दिएँ । उनी लगायत वरिपरि भएका अरु मानिसहरु पनि उत्सुक भएर मलाई हेरिरहेका थिए । ती उत्सुक आँखाहरु हेर्दै म चाहिँ कुनै टाइम मेसिनमा बसेझैं स्मृतिको गोरेटोमा निकै वर्ष अघि पुगें ।
त्यतिबेला म सात कक्षामा पढ्थें । मलाई पाठ्यपुस्तक भन्दा अरु पुस्तकहरु पढ्न रुचि लाग्थ्यो । तर घरमा त्यो कुरा वर्जित थियो । मेरो घरमा मात्र नभएर त्यतिबेलाका अधिकांश घरहरुको त्यस्तै कथा हुन्थ्यो । पाठ्य पुस्तक बाहेक अरु पढ्नु भनेको बिग्रनु हो । त्यतिबेला अहिलेको जस्तो सहज ढंगले विश्व साहित्य वा विविध विषयका पुस्तकहरु पाइँदैनथ्यो पनि । प्रेमचन्द, शरतचन्द्र, रवीन्द्रनाथ ठाकुरहरुका चुनिएका हिन्दी साहित्य, इब्ने सफी, कर्नल रञ्जीत वा वेदप्रकाश काम्बोजका जासूसी उपन्यास, रानू र गुलशन नन्दाका सामाजिक भनिने प्रेमकथामय उपन्यासहरु नै साधारणतया प्राप्त हुन्थे । केही सीमित वर्गमा चाहिँ ह्यारोल्ड रबिन्स, जेम्स हेड्ली चेज जस्ता अंग्रेजी लेखकका कृतिहरु फेला पर्थे । हाम्रो घरमा चाहिँ विश्वका प्रख्यात लेखकहरुका केही आख्यानहरु अनि केही राजनैतिक र ऐतिहासिक सन्दर्भ सामाग्रीका पुस्तकहरु पनि थिए । सबै खालका पुस्तकहरुले मलाई आकर्षित गर्थे । तिनका थरिथरि कलेवर, नाम लेख्ने फरकफरक अक्षरहरु, साजसज्जाका विविधताहरुले मलाई मुग्ध बनाउँथे । अरु गहन पुस्तकहरु मेरो त्यतिबेलाको मगजमा नघुस्ने हुनाले पढ्न रुचि नलागे पनि तिनका शीर्षक र लेखकका नामहरु मलाई कण्ठ हुन्थे । कामु, काफ्का, मार्क ट्वेन, समरसेट मम, रोवर्ट फ्रस्ट, हेमिंगवे, अरवेल, टल्सटय, अगाथा क्रिष्टी, सर अर्थर कोनन डायल र अन्य थुप्रै संग नामले म त्यतिबेलै परिचित थिएँ, कामले निकै पछि भए पनि । पढ्नका लािग चाहिँ म लुकीछिपी जासूसी र प्रेमकथाका उपन्यासहरु पढ्थें, विशेष गरी हिन्दीमा उपलव्ध ।त्यही बेला ताका एउटा साथीले मलाई इनिड ब्लाइटनको एउटा अंगे्रजी बाल पुस्तक पढ्न दियो । पाँच जना बालबालिका र उनीहरुको एउटा कुकुरको साहसिक कथा भएको त्यो पुस्तक इनिड ब्लाइटनको फेमस फाइभ भन्ने श्रृँखलको एउटा कडी थियो । जुलियन, डिक, एनी, जर्जिना र टिमोथी भन्ने कुकुरलाई फेमस फाइभ भनिएको थियो । एउटा निर्जन टापुमा छुट्टी मनाउन गएका ती पाँच जनाले एउटा पुरानो किल्लाको गुप्त सुरुङ फेला पार्छन्, त्यहाँबाट गैरकानूनी काम गरिरहेका बदमासहरुसंग उनीहरुको जम्काभेट हुन्छ र उनीहरु बन्दी बनाइन्छन् । आफ्नो सूझबूझ र कुकुरको सहयोगमा कसरी उनीहरु उम्कन्छन र बदमासहरुलाई परास्त गर्छन् भन्ने कथा भएको त्यो पुस्तकले मलाई मोहनी लगायो । त्यसपछि त म इनिड ब्लाइटनका पुस्तकहरु कहाँ पाइन्छन् भनेर खोजीखोजी पढ्न थालें । तर मेरो चिनजानका साथीभाइहरुसंग उनका केही सीमित पुस्तकहरुमात्रै थिए । एउटै पुस्तक तीनचार पटक पढ्दा पनि त्यसको रोचकता र रोमाञ्च त्यस्तै रहन्थ्यो । कुनै नयाँ पायो भने त त्यो उत्सव नै हुने भै हाल्यो । त्यतिबेलाको कलिलो मनमा मलाई आफू पनि त्यस्तै कुनै रोमाञ्चक छुट्टीमा जान पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो ।
मान्छेमा उन्मुक्ति र स्वतन्त्रता भन्ने कुरा कुनै कम्प्यूटर किन्दा त्यसमा पहिले नै जडान भएर आएको सफ्टवेयर जस्तो हुन्छ । अचेतन वा अविकसित मगजमा पनि गहिरो जरा गाडेर बस्दो रहेछ । त्यसैले होला फेमस फाइभका पात्रहरु जस्तै म पनि आफ्नै भरमा कुनै जंगल, पहाडमा पाल गाडेर रात बिताएको कल्पना गर्थें । म कतै कुनै निर्जन टापूमा भत्केको पुरानो घरमा बस्थें, त्यहाँ कुनै गुप्त ढोका र सुरुङ फेला पार्थें, तहखानामा लुकाइएका ऐतिहासिक महत्वका सामाग्रीहरु फेला पार्थें र गलत हातमा तिनलाई पर्नबाट रोक्थें । कहिले बदमाशहरुले मलाई समातेर पाता कसेर लडाउँथे । म तिनलाई झुक्याएर अनेकौं जुक्ति लगाएर उम्कन्थें । कहिलेकहीं मलाई सरकारी तवरबाट पुरस्कृत पनि गरिन्थ्यो । इनिड ब्लाइटनले संसारका करोडौं अरुलाई जस्तै मलाई पनि कल्पनाशील हुन सघाइरहेकी थिइन् ।
एक दिन महाँकालस्थानको दर्शन गरेर फर्कने बेला म त्यहाँ मुनि अवस्थित एजुकेसनल बुक हाउसको पसलमा छिरें । त्यहाँ भएका थरिथरि पुस्तकहरु हेर्दै जाँदा अचानक मेरो आँखा इनिड ब्लाइटनको फेमस फाइभ श्रृँखलाको एउटा पुस्तकमा टक्क अड्यो । अहिले पनि स्पष्ट सम्झना छ मलाई, त्यसको नाम थियो, ‘फाइभ गो टू बिल्लीकक हिल ।’ त्यो मैले पढ्न पाएको थिइँन । त्यो पुस्तक नयाँ र आकर्षक कलेवरमा छापिएको थियो । फेमस फाइभका कथाहरुमा बेलायती टेलिभिजन च्यानलमा एउटा श्रृँखलाको निर्माण भएको रहेछ । पहिलेपहिले मैले पढेकामा चित्रकारको पेन्टिंग कभरमा हुन्थ्यो, यसमा भने टेलिभिजनमा अभिनय गर्ने बालकलाकारहरुको तसवीर थियो । मलाई ती सबै पात्रहरु अचानक जीवित भएको जस्तो लाग्यो । त्यो पुस्तकको मूल्य थियो, पैंतीस रुप्याँ ।
हाम्रो लागि त्यतिबेला पैंतीस रुप्याँ भनेको निकै नै ठूलो रकम थियो । पकेट खर्च भनेर दिने चलन पनि थिएन । मैले निकै बेरसम्म लोभलाग्लो आँखाले त्यो पुस्तकलाई ओल्टाइपल्टाइ हेरें । चिल्लो कलेवरमा हरियो रंगको बाहुल्य भएको अनि फेमस फाइभको भूमिकामा अभिनय गर्ने बालबालिका र कुकुरको शूटिंगकै बेलाको जीवन्त फोटो भएको त्यो पुस्तकसंग म अलग हुनै चाहन्नथें । मलाई त्यो पुस्तक पढ्ने तीब्र हुट्हुटी भयो । तर, पैंतीस रुप्याँको त्यो पुस्तक किन्ने मेरो औकात थिएन । केही समय अघि स्कूलका पैसा उठाएर गोदावरी पिकनिक जाने कुरा हुँदा मैले मागेको पाँच रुप्याँ त मानौं मैले अंश नै मागेको जस्तो गरी अस्वीकृत भएको थियो । पुस्तक किन्न पैंतीस रुप्याँ मागें भने त जायजेथाबाटै बेदखल भइएला भन्ने पीर । त्यो मेरो कल्पनाभन्दा बाहिरको कुरा थियो ।
बा भन्ने गर्थे, "चमडी जाये पर दमडी न जाये ।"
धेरै समय पसलमा अलमलियो भने साहूजीले शंका गर्लान् भन्ने पीर आफ्नै ठाउँमा थियो । म सयसय मनको पाइला चाल्दै घर तिर फर्कें । आफ्नी प्रेयसीसंग विछोड भएर हिंडेको प्रेमी जस्तो भएको थियो त्यतिबेला मेरो अवस्था । घर आएपछि न खेल्न जान मन लाग्यो, न पढ्न । मेरो मनमस्तिष्कमा इनिड ब्लाइटनको ‘फाइभ गो टू बिल्लीकक हिल’ बाहेक अरु केही थिएन । त्यो पुस्तकमा के हुन्छ होला ? बिल्लीकक हिल भनेको कस्तो ठाउँ होला ? फेमस फाइभको त्यहाँ कस्तो रोमञ्चक गतिविधि होला ? यसपटक उनीहरुले के फेला पार्छन होला ? कसरी उम्किन्छन् होला ? प्रश्नहरु मेरो मनमा फन्फनी घुमिरहे । त्यस रात म निकै ढीला निदाएँ । सपनामा फेमस फाइभका साथ म त पोखराको महेन्द्र गुफामा रहेछु । त्यहाँ हामीले एउटा गुप्त सुरुङ फेला पा¥यौं । टर्चको उज्यालोमा हामी त्यहाँ अघि बढ्दैथ्यौं । मेरो निन्द्रा खुल्यो ।
भोलिपल्ट स्कूलमा पनि मेरो मन त्यहीं नै थियो । अटेरी जूका जसरी इनिड ब्लाइटनको त्यो पुस्तक मेरा मनमस्तिष्कमा टाँसिएको थियो । घर फर्केपछि झोला फुत्त फ्याँकेर म त्रिपुरेश्वरबाट महाँकालस्थान तिर हान्निएँ । म एकपटक फेरि एजुकेसन बुक हाउसको पसल भित्र छिरें । ढोकाकै छेउमा काउण्टर थियो र त्यसको पछाडि त्यहाँका साहूजी (अञ्जनजीका पिता हुनुपर्छ) बसिरहेका थिए । लामो सोतो भएको पसलको दुइतिर भित्ता र बीचमा एउटा ¥याकहरुमा पुस्तकहरु सजाइएका थिए । मेरो सिकार चाहिँ परको कुनाको ¥याकमा मलाई हाँक दिए झैं बसिरहेको थियो । मैले सतर्क आँखाले चारैतिर हेरें । पसलमा अरु एकदुई जना ग्राहकहरु पनि थिए । म काउण्टरबाट नदेखिने गरी अलिकति छलिएर उभिएँ । मेरो मुटु जोरले ढ्याँग्रो ठोक्न थाल्यो । मलाइ अब एउटा मौकाको प्रतीक्षा थियो ।
त्यही बेला एक जना ग्राहक दुईतीन वटा किताब छानेर काउण्टर तिर गए । म सारा ध्यान त्यतै केन्द्रित गरेर तयार भएँ । साहूजी ती ग्राहकसंग बोल्दै हिसाब गर्न थालेपछि मैले इनिड ब्लाइटनको त्यो पुस्तक टपक्क टिपें । म तिर कसैको ध्यान थिएन । मैले त्यस पुस्तकलाई प्याण्टको माथ्लो भागबाट भित्र खाँदेंर कमेजको फेर बाहिर निकालें । एकपटक पुलुक्क हेरें, कतै त्यसको डोब त देखिएको छैन ? हुन त साहूजी अझै तिनै ग्राहकसंग व्यस्त थिए, तै पनि अरु पुस्तक हेरेजस्तो गर्दै म सकेसम्म सहज भावले ढोकातिर लागें । अब त मेरो मुटु उफ्रेर घाँटीमा आइपुगेको भान हुन थालिसकेको थियो । म बिना कुनै व्यवधान ढोकाबाट बाहिर निस्कें, दुइतीन पाइला सहज पाराले अघि बढें । मलाई कुनै पनि बेला मेरो कठालोमा साहूजीको दह्रो हातले च्याप्प पारेर अँठ्याउँछ भन्ने डर लागिरहेको थियो । अनि अचानक कुनै टर्वो इन्जिन जडिए जसरी मेरा गोडाहरुले तीव्रता लिन थाले र म दायाँबायाँ नहेरि युसेन बोल्टलाई माथ गर्ने गतिमा टाप ठोकें । त्रिपुरेश्वरको ओरालोमा पुगेर फर्केर हेर्दा रेसको दोश्रो स्थानमा कुनै धावकलाई नदेखेपछि मात्र म लामोलामो सास फेर्दै थचक्क बसें ।
‘फाइभ गो टू बिल्लीकक हिल’ मैले त्यही रात सिरकभित्र लुकेर टर्चको उज्यालोमा पढेर सकाएँ ।
अञ्जनजीको उत्सुक आँखा अझै पनि ममाथि नै थियो । मैले भनें,“केटाकेटी बेलामा मैले तपाइँहरुको महाँकालस्थानको पसलबाट एउटा किताब चोरेको थिएँ । त्यसको मूल्य पैंतीस रुप्याँ थियो । आज मैले तपाइँको त्यो पुरानो रिन तिरें हैं ।”
सबैजना हाँस्न थाले । मेरो आँखा अचानक अञ्जनजीको पछाडि स्टलमा प¥यो । पुस्तक प्रदर्शनीमा बेच्न राखिएका किताबहरुको बीचमा मेरो उपन्यास यायावर पनि थियो । म जुनबेला उनको पसलबाट एउटा किताब चोरेर भागेको थिएँ, कुनै दिन मैले पनि किताब लेख्छु र त्यो किताब यही एजुकेसनल बुक हाउसको ¥याकमा बिक्रीको लागि राखिएला भन्ने कसैले सोच्न सक्थ्यो होला र ?
अनि म पनि मुसुक्क हाँसें । मलाई एउटा बोझ हलुँगो भए जस्तो लागिरहेको थियो ।
balya kal ko samjhana aayo....
ReplyDelete