“म अहिले एउटा सानो मिटिङमा छु”
कोही कतैबाट भन्दै थियो र त्यो आवाजले फाइँफुट्टीराजको ध्यान तान्यो । किनभने त्यतिबेला जुन ठाउँमा फाइँफुट्टीराज ऊभिएको थियो त्यहाँ मिटिङ हुनु भनेको असम्भव नभए पनि अपत्यारिलो चाहिँ अवश्य लाग्थ्यो । हुन त मालदिभ्सको मन्त्रिपरिषद्को मिटिङ समुद्रमुनि भएकै थियो क्यारे । हाम्रै देशका बाहुबलीहरूले पनि मन्त्रिपरिषद्को बैठक सगरमाथाको काखमा नगरेका त हैनन् । तर त्यो ठाउँमा मिटिङ ? फाइँफुट्टीराज रनभुल्ल परेको थियो ।
फाइँफुट्टीराज नाम अनुसारै फाइँफुट्टी हाँक्न नामुद मानिस हो । अलि धेरै पहिलेका पाठकहरूलाई यो नाम परिचित लाग्न सक्छ । छोटकरीमा ऊ आफूलाई फाफुरा भन्ने गर्थ्यो ओझेलमा परेको चर्चित फाफुरा हराएको धेरै भइसकेको थियो । किनभने पहिलेजस्तो फाइँफुट्टी लगाउने काममा उसको एकाधिकार तोडिएको छ आजकल । ऊ भन्दा ‘बडेबडे’ फाइँफुट्टी हाँक्नेहरूले उसलाई झण्डै विस्थापित नै गरिदिए । तर, पछिल्लो केही समयमा फलानोले सन्काएपछि फाफुरा पुनः सल्बलाएको हो । लामो समयपछि झुल्केको फाफुरा अब आफूलाई प्राइभेट पत्रकार भन्न रुचाउँछ । प्राइभेट डिटेक्टिव, प्राइभेट सेक्रेटरी हुन सक्छन् भने प्राइभेट पत्रकार किन हुन नसक्ने ? अरुहरू देशका ठूलाठूला तथा गहन समस्याको चर्चा परिचर्चा र समाधानमा लागेको बेला फाफुरा चाहिँ सानातिना कुरा खोतल्ने गर्छ । त्यसैले अरू कसैले उसलाई गने पनि नगने पनि आफ्नै लागि सोच्छ, लेख्छ । त्यसैले ऊ प्राइभेट पत्रकार हो । फाफुराका अरू आनीबानीसँग तपार्इँहरू बिस्तारै परिचित हुँदै जानुहुनेछ ।
केही दिनअघिको कुरा हो, जब फाइँफुट्टीराज एउटा सपिंग मलमा थियो । उसलाई अचानक लघुशंकाले च्याप्यो र ऊ हतारहतार त्यहाँको शौचालयतिर लम्क्यो ।
तपाईँहरूमध्ये कति जनाले हेक्का गर्नुभएको छ कुन्नि तर अधिकांश त्यस्ता तथाकथित उच्च कोटिका मलमा शौचालय चाहिँ निम्न कोटिको हुन्छ । अझ भाटभटेनीका शौचालयहरू त अलि खाइलाग्दो ज्यान भएका दुईजना एकैपटक छिर्न र उभिन पनि सकस हुने खालका हुन्छन् । यो स्थानमा पनि अवस्था त्यस्तै नै थियो । लघुशंकाका लागि तीनजनालाई हुने व्यवस्था थियो जसमध्ये एउटा प्रयोग गर्न नसकिने अवस्थामा थियो । दीर्घशंकाका लागि माथि र तल ह्वाङ्ग भए पनि बीचमा बारिएका दुई कोष्ठ थिए । तिनै दुईमध्ये एक कोष्ठमा विराजमान कुनै एक महापुरुषको त्यो उद्गार थियो । उनी ठस्ठस् कन्दै कसैलाई फोनमा भन्दै थिए,
“म अहिले एउटा सानो मिटिङमा छु ।”
अनायास फाफुराको अनुहारमा मुस्कानको एउटा धर्को तानियो । कस्तो अचम्मको मिटिङमा होलान् ती महामानव अनि कोसँग मिटिङमा होलान् त्यहाँभित्र ? के एजेन्डा होला त्यो मिटिङको ? त्यही सोच्दासोच्दै उसको सानो मगजमा एउटा कुरा झिलिक्क भयो । यो वाक्य आजकल हामीले निकै धेरै प्रयोग गर्ने गरेका छौँ, सुन्ने गरेका छौँ । यत्रतत्र, सर्वत्र सदैव सुनिने एकदम साझा वाक्य हो यो –
“म अहिले एउटा सानो मिटिङमा छु ।”
फाफुरा सम्झिने प्रयास गर्न थाल्यो । यही वाक्य उसले आफैँ कहाँकहाँ र कतिपटक सुनेको छ । एकपटक एउटा माइक्रोमा कोच्चिएर यात्रा गरिरहेको बेला उसको छेउमा अँचेटिएर मोबाइलमा गेम खेलिरहेका एक सहयात्रीको फोन बज्यो । उनले फोन कानमा टाँसे, उताबाट आएको आवाज सुने । अनि भने,
“म अहिले एउटा सानो मिटिङमा छु ।”
अर्को घटना थापाथली चोकको हो । त्यस दिन त्यहाँ पहिले नेपालको इतिहासमै नभएको एकदमै उदेक लाग्दो घटना भएको थियो । विपरीत दिशातिरबाट एउटा भटभटे आफ्नो लेन पेलेर चोकतिर आयो । ट्राफिकले त्यो भटभटे सवारलाई रोके । भटभटे सवारको नियम उल्लंघन गर्न बाध्य हुनुका हजार बहाना र स्पष्टीकरण नसुनेर ट्राफिक प्रहरीले उनको लाइसेन्स खोसेर चिट काट्न थाले । भनिरहनु नपर्ला, यति दुर्लभ, ऐतिहासिक र एक युगमा एकपटक आउने उक्त घटनाको साक्षी बस्न त्यहाँ पचास जना जतिको भिड लागिसकेको थियो । फाफुरा पनि त्यही हुलमा मिस्सियो । आफ्ना नाति पनातिसम्मलाई कथा सुनाउन पाइने त्यस घटनाको स्वाद लिन कसले छोड्ला र ? तिनैमध्ये एकजना दर्शकको फोन बज्यो । उनले फोन उठाए र हतारहतार उताको कुरै नसुनी बोले,
“म अहिले एउटा सानो मिटिङमा छु । पछि कल ब्याक गर्छु है ?”
यी बाहेक पनि रत्नपार्कमा मस्त घाम तापेर सुन्तला र बदामको स्वाद लिइरहेका मानिस, लखरलखर हिंडिरहेका बटुवा, कुनै खम्बा गाडेको वा उखेलेको जादूमयी दृश्य तीस मिनेटदेखि टोलाएर सिंहावलोकन गरिरहेको मानिसले पनि फोन आउँदा यही राष्ट्रिय मूलमन्त्र प्रयोग गरेको फाफुराको आफ्नै कानले सुनेको छ,
“म अहिले एउटा सानो मिटिङमा छु ।”
यी त भए तपाईँहामी जस्ता सर्वसाधारण मनुवाका कुरा । अब एकछिन वरिष्ठ, गण्यमान्य र मूर्धन्य व्यक्तित्वहरूको पनि कुरा गरौँ । प्रशासक, व्यापारी, उद्योगपति तथा सरकारी हाकिमखालका कर्मचारीलाई काम परेर भेट्न जानुस् त । उनीहरू जहिले पनि एउटा सानो मिटिङमै हुन्छन् । कहिलेकहीँ परिस्थिति हेरेर उनीहरूका सहायकले ‘सानो’लाई जरुरी, गम्भीर वा अपर्झट बनाउन सक्छन् तर मिटिङ अकाट्य, अपरिवर्तनीय र निर्किकल्प नै हुन्छ ।
सभा, सेमिनार, पुस्तक विमोचन जस्ता कार्यक्रममा प्रमुख अथिति ... माफ गर्नुहोला जिब्रो नभएको हात लरबरियो (प्रमुख अतिथि जहिले पनि भनेको समयभन्दा ढीला नै सवारी हुन्छ । धेरैजसो उहाँहरू नआई कार्यक्रम सुरु नै हुँदैन । भएछ भने पनि उहाँहरु आइपुगेपछि चलिरहेको कार्यक्रमलाई रोकिन्छ । चाहे त्यो मध्य वा समापनतिरै किन नहोस् । उहाँहरूलाई ससम्मान आसन ग्रहणका लागि अनुरोध गरिन्छ । अनि जब उहाँहरूलाई ‘दुई शब्द’ प्रकट गर्न सविनय अनुरोध गरिन्छ उहाँहरू उठेर एकपटक माइकमा फूः गर्नुहुन्छ, औँलाले ट्वाक् ट्वाक् हान्नुहुन्छ । लाउडस्पिकर दर्शक श्रोतातिर फर्केको हुन्छ, कानको जाली फुटे तिनकै फुट्छ । अनि घाँटी खकारेर मञ्चमा भएका सबैको विशेषण र उपाधिसहित नाम वाचनपश्चात् दुई शब्दको आरम्भ पनि सँधैजसो त्यही मूलमन्त्रबाटै गर्नुहुन्छ,
“म एउटा जरुरी मिटिङमा भएकोले यहाँहरुलाई कुराउन परेकोमा क्षमा चाहन्छु ।”
सम्भवतः त्यति महत्त्वपूर्ण मिटिङबाट पनि समय निकालेर त्यहाँ आइदिएकोमा अरू सबैले अनुगृहित अनुभव गरून् भन्ने उहाँको आशय हुन्छ । सबै भैदिन्छन् पनि, कृत्यकृत्य । त्यस्ता अतिथि धेरैजसो पूरै कार्यक्रम अवधिभर बसेर आफ्नो अमूल्य समय खेर जान दिन कहाँ सक्छन् र ? बीचमै उठेर नमस्ते गर्दै जानुअघि पनि मूलमन्त्र जप्न बिर्सनुहुन्न,
“एउटा जरूरी मिटिङ भएकोले मेरो चाहनाको बाबजुद जानु परेकोमा क्षमाप्रार्थी छु ।”
कहिलेकहीं उहाँहरूको तर्फबाट यो याचना उद्घोषकले गरिदिन्छन् र उहाँहरू गजक्क फुलेर मुस्काइरहनु हुन्छ ।
फाफुराको सानो बुद्धिले भेउ पाउन नसकेको कुरा के हो भने, अचम्म लाग्छ, सर्वसाधारणदेखि वरिष्ठसम्म सबैको यति धेरै सानो, जरूरी वा महत्वपूर्ण मिटिङ किन हुने गर्छ ? यत्तिका धेरै मिटिङबाट हामीले के लछारपाटो लगाएका छौँ त ? यी मिटिङहरूको उपादेयता र उपलव्धि के हो ? हामी किन सँधै मिटिङमा भएको नाटक गर्छौं ? के जहिले पनि मिटिङमा हुने भनेपछि अरूले हामीलाई महत्वपूर्ण र ठूलो मान्छेमा गनिन्छौँ भन्ने सोच हो हाम्रो ?
तर, यी सबै कुरालाई बिर्सेर यो मूलमन्त्रको सकारात्मक पक्ष खोज्ने हो भने चाहिँ, यो सानो मिटिङ नै यस्तो कुरा हो जुन सबै नेपालीले विवादरहित तवरबाट बिना कुनै झैझगडा एकमत र एकजुट भएर गरिरहेका छौँ । हरेक कुरामा ध्रुवीकृत भइरहेका हामी नेपालीहरूमा यही एउटा साझा कुरा बाँकी रहेको छ । सानो मिटिङ । कमसेकम यही एउटा वाक्यले हामीलाई अझै एकताको सूत्रमा बाँधेको छ ।
“म अहिले एउटा सानो मिटिङमा छु ।”
त्यसैले फाइँफुट्टीराज के भन्न चाहन्छ भने अझ सकेजति धेरै सानो मिटिङ गरौँ । हरेक दिन, हरेक बिहान, हरेक अपरान्ह र साँझ ससानो मिटिङ गरौँ ।
फाफुरा यो आलेख अलि लामै लेख्ने दाउमा थियो तर माफ गर्नुहोला उसलाई एउटा सानो मिटिङमा जानु छ । त्यसैले अहिलेलाई फाइँफुट्टीराज बिदा माग्छ । अर्को मंगलबार फेरि ठूलै फाइँफुट्टी हाँकौला सानो कुरामा ।
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment