आषाढ ३०, २०७५ देखि दैनिक 'नयाँ पत्रिका'को शनिवार अंकका लागि धारावाहिक आख्यान शुरु गरेको छु, 'हराएको मानिस'
बिहानको १० बज्ने वेलाको समय ।
थापाथलीको पुलको ट्राफिकमा असंख्य गाडीहरूको बीचमा एउटा महँगो, ठूलो र चिल्लो गाडी पनि अड्किएको छ । प्रचलित बजारभाउअनुसार त्यसको मोल पौने तीन करोडको हाराहारीमा पर्छ क्यारे । पौने तीन करोडको गाडीभित्र पछाडिको सिटमा भव्य व्यक्तित्व भएको एकजना अधबैँसे मानिस बसेको छ ।
गाडीको झ्यालढोका टम्म लागेको छ । तैपनि बाहिरको कर्कश ध्वनि कतैबाट छिरेकै छ । सबै हर्न बजाइरहेका छन् । पुलमा अलि ठूलो बस प्रवेश गर्नासाथ त्यो थोत्रो पुल भुइँचालो आएजसरी थर्थर काम्छ । पूर्णतया वातानुकूलित गाडीमा पनि त्यो मानिसको निधारमा खै कसरी हो कुन्नि, केही थोपा पसिना आइरहेको देख्न सकिन्छ ।
उसको मन बेचैन छ भन्ने कुरा उसको अनुहारले नै स्पष्ट देखाइरहेको छ । जतिसुकै महँगो गाडीभित्र बसे पनि मानिस तनावमुक्त र खुसी हुन सक्छ भन्ने कुनै ग्यारेन्टी कहाँ हुँदो रहेछ र ! अगाडि–पछाडि, दायाँ–बायाँ आँखाले भ्याउन्जेल चारपांग्रे र दुईपांग्रे सवारीसाधनहरूले घेरिएको गाडीभित्र बसेको त्यो मानिस तीभन्दा कति हो कति गुना बढी चिन्ताले घेरिएको थियो ।
लेन मिचेर, बांगो टेढो परेर लम्पसार परेका अरू गाडी अनि भेटेकोजति कुना र चेपचेपमा खाँदिएका मोटरसाइकलहरूले स्थितिलाई अझ बढी अप्ठ्यारो बनाएका छन् । कतिपय दाहिने जानुपर्नेहरू देब्रेतिरको लेनमा र देब्रे जानुपर्नेहरू दाहिनेको लेनमा छिरेर अड्किएका छन् । बाटो सधैँजस्तै छिचोलिनसक्नु नै छ ।
कार्यालय समय सुरु हुन लागेका वेला काठमाडौंका सडकहरू यसै गरी अस्तव्यस्त हुन्छन् । आफ्नो क्षमताले धान्नेभन्दा बढी मानिस र सवारीसाधनहरूको बोझले किचिएको देशको राजधानीले जतिसुकै रोइकराइ प्रतिकार गरे पनि त्यो यहाँको कोलाहलमा कसैले सुन्दैन ।
कसैलाई कसैको प्रतिकार सुन्ने फुर्सद नै कहाँ छ र यो प्रतिस्पर्धा र भागदौडको निर्दयी समयमा । यहाँ सबैलाई अघि बढ्नु छ, जसरी भए पनि, जसलाई जितेर भए पनि, जसलाई कुल्चिएर भए पनि । बस्, यहाँ सबैलाई हतार छ ।
निकै बेरपछि त्यताको बाटो खुल्यो । के उसको चिन्ताको बाटो पनि के त्यसै गरी खुल्ला त ? लामो सास फेरेर उसले आफ्नो ड्राइभरलाई भन्यो, ‘छिटो कुदाऊ जितबहादुर । नत्र, फेरि पुल काटेर चोकमा अर्को आधा घन्टा रोकिनुपर्छ ।’
जितबहादुरले सक्नेजति एक्सिलरेटर थिच्यो ।
त्यसको आधा घन्टापछि त्यो पौने तीन करोडको गाडी कुनै एउटा तेह्रतले भवनको कम्पाउन्डमा सर्प घिस्रिएजसरी छि-यो । लबीअगाडि गाडी रोकिनासाथ जितबहादुर फुर्तिका साथ ओल्र्यो र घुमेर पछाडिपट्टिको ढोका खोल्न भ्यायो । गार्डलगायत अरू केही मानिसको आँखा त्यतै केन्द्रित भयो । पहिले सुनको मुठ भएको एउटा लौरो बाहिर निस्क्यो ।
त्यसलाई समातेको हातका चारैवटा औँलामा थरीथरी पत्थर जडिएका मोटा बाक्ला औँठी थिए । एउटा ठूलो हीरा हुनुपर्छ, घाममा टिलिक्क टल्क्यो । त्यसले रंगीबिरंगी प्रकाश फ्याँक्यो । अनि बिस्तारै त्यो मानिस बाहिर निस्क्यो । उसको उचाइ सामान्य नेपालीको भन्दा केही अग्लो थियो ।
सत्तरी वर्ष छुन लागेकाजस्तो देखिने त्यो मानिसको अनुहारमा उमेरका रेखाहरू देखिन्थे । कपाल पूरै चाँदीजस्तो सेतो थियो । तर, उसको शरीर त्यसको तुलनामा तनक्क तन्किएको र स्वस्थ देखिन्थ्यो । उसको समग्र व्यक्तित्व नै आकर्षक थियो । अलि परबाट त्यतै हेरिरहेको एउटा युवकको आँखामा उसलाई चिनेको भाव आयो । उसको मुखबाट निस्क्यो,
‘ओहो ! सर्वेश्वरराज कोइराला ?’
ढोकामा उभिएको गार्डले सर्वेश्वरराज कोइरालालाई बुट बजारेर सलाम ग-यो । सर्वेश्वरराजले उसलाई सोध्यो,
‘सम्पादकजीको अफिस कुन तलामा छ ?’
‘तेह्रौँ तलामा हजुर ।’
उसलाई परबाट हेरिरहेको युवक यति सुन्नासाथ हतारिँदै भित्रतिर लम्कियो । सर्वेश्वरराजले एकपटक त्यो अग्लो भवनलाई टाउको उठाएर हे-यो र बिस्तारै भित्रतिर लाग्यो ।
जितबहादुर गाडी पार्क गर्न गयो ।
तेह्रौँ तलामा लिफ्ट रोकियो । ढोका राम्ररी खुल्दानखुल्दै अघि तल सर्वेश्वरराजलाई देखेर हतारिएको युवक बाहिर निस्क्यो र लगभग दगुरेको गतिमा लामो करिडरको पल्लो छेउमा भएको कोठाको ढोकातिर लाग्यो । त्यो ढोकाको नामपातोमा लेखिएको थियो,
‘प्रकाश राई, प्रधान सम्पादक’
ढोका ढकढक्याउने सामान्य शिष्टाचारसमेत थाती राखेर ऊ ह्वात्तै भित्र पस्यो ।
अनायास कोही छिरेको आभास भएर प्रकाशले हतारिएर आफ्नो ल्यापटपमा खुलिरहेको पोर्न साइट बन्द ग-यो । ल्यापटपबाट आँखा उठाएर हस्याङफस्याङ गर्दै भित्र छिरेको युवकलाई देखेर ऊ निश्चिन्त भयो । उसले सोध्यो,
‘हुरीबतासजसरी छि-यौ त भित्र । कुनै ब्रेकिङ न्युज लिएर आयौ कि क्या हो ?’
युवकले आफ्नो सासलाई नियन्त्रण गर्न खोज्दै भन्यो,
‘त्यस्तै भन्ठान्नुस् सर । सर्वेश्वरराज कोइराला आफैँ अफिसमा आएका छन् ।’
प्रकाशको अनुहारमा जिल्ल परेको भाव आयो,
‘हाम्रो अफिसमा ? सर्वेश्वरराज कोइराला ? आर यु स्योर ?’
‘हो सर, मैले आफ्नै आँखाले देखेको । उनी तपाईंकै अफिसमा आउँदै छन् ।’
प्रकाश जुरुक्क आफ्नो कुर्सीबाट उठ्यो र हतारहतार ढोकातिर लाग्यो । ऊ आफ्नो अफिसको ढोका खोलेर बाहिर निस्कनु र लिफ्टबाट सर्वेश्वरराज कोइराला बाहिर निस्कनु एकैपटक भयो । सर्वेश्वरराज आफ्नो लठ्ठीको सहायताले सन्तुलित पाइला चाल्दै अघि बढ्न थाल्यो । प्रकाश सय मिटर दौडको बन्दुक पड्केपछिको धावकजसरी त्यता लाग्यो । सर्वेश्वरराजले चार–पाँच पाइला नचाल्दै प्रकाश उसको छेउमा पुगिसकेको थियो । ऊ सम्मानपूर्वक बोल्यो,
‘नमस्कार हजुर ! कत्रो ठूलो सौभाग्य मेरो । हजुर स्वयं मेरो अफिसमा ? म त विश्वासै गर्न सकिरहेको छैन ।’
सर्वेश्वरराज केही बोलेन । प्रकाशले ससम्मान आफ्नै अफिसतिर सर्वेश्वरराजको सवारी चलाउन थाल्यो । ढोका खोलेर ऊ त्यहीँ उभियो । पहिले सर्वेश्वरराज भित्र छिरेपछि मात्र ऊ भित्र छि-यो । सर्वेश्वरराजले सर्सर्ती उसको अफिसलाई हे-यो अनि छेउको सोफामा लमतन्न परेर बस्यो । प्रकाश उसको अगाडि सोफाको अघिल्लो छेउमा आफ्नो पुठ्ठो अडाएर सतर्क मुद्रामा बस्यो । उसले भन्यो,
‘खबर पठाउनुभएको भए म आफैँ हाजिर हुन्थेँ । हजुर स्वयंले यहाँसम्म आउने कष्टै गर्नुपर्दैनथ्यो ।’
सर्वेश्वरराजले गम्भीर स्वरमा भन्यो,
‘काम मेरो थियो, त्यसैले म नै आएँ ।’
प्रकाशले सोध्यो,
‘काम त हुँदै गर्छ हजुर । चिसो, तातो के मगाऊँ ?’
‘एक गिलास पानी ।’
प्रकाशले अघिदेखि उभिइरहेको युवकलाई आँखाले सान ग-यो । युवक बाहिरतिर लाग्यो । प्रकाश सर्वेश्वरराजले केही भन्लान् भनेजस्तो भावले मौन बसिरह्यो । सर्वेश्वरराज के भनेर र कहाँबाट कुरा सुरु गरौँ भनेझैँ मनमनै केही गमिरहे । वातानुकूल यन्त्रको पंखा घुमेको मधुरो आवाज आइरहेको थियो ।
तल सडकमा गुडिरहेका गाडीहरूको हर्नको आवाज पनि सानो तर नियमित रूपमा आई नै रहेको थियो । सर्वेश्वरराजले केही बोल्नलाई मुख खोल्नासाथ एउटी आकर्षक युवती किस्तीमा पानीको गिलास लिएर भित्र छिरी । सर्वेश्वरराज मौन भएर उसलाई हेर्न थाल्यो । ऊ प्रकाशकी सहायिका थिई ।
उसले मुसुक्क हाँसेर गिलास सर्वेश्वरराजको सामु राखिदिई र नम्रतापूर्वक नमस्कार गरी । सर्वेश्वरराजले गिलास उठाएर सफा पानीलाई नियालेर हे-योे । मानौँ उसको आँखा माइक्रोस्कोप हो र ऊ पानीमा कुनै कीटाणु भए/नभएको जाँच गरिरहेको छ । नभएकोमा आश्वस्त भएपछि एकै घुट्कोमा उसले पानी सकायो । प्रकाश उसको पानी निल्दा हल्लिरहेको रुद्रघण्टी हेर्दै सोच्न थाल्यो,
‘मैले आजसम्म कसैको यत्रो ठूलो रुद्रघण्टी देखेको छैन ।’
गिलास रित्तिएपछि प्रकाशकी सहायिकाले नम्र स्वरमा सोधी,
‘अरू सर ?’
‘नो । थ्याङ्क यु ।’
सहायिका बाहिर गई । प्रकाशले उसलाई सोध्यो,
‘के सेवा गर्न सक्छु म हजुरको ?’
सर्वेश्वरराजले गम्भीर स्वरमा भन्यो,
‘मलाई तपाईंको पत्रिकामा एउटा विज्ञापन छपाउनु छ ।’
प्रकाश अब जिल्ल प-यो । एउटा नाथे विज्ञापन छपाउनका लागि सर्वेश्वरराज कोइराला आफैँ उसको अफिसमा आउनु भनेको उदेकमर्दो कुरा थियो । कुरा उसले बुझ्न सक्नेभन्दा गहिरो थियो ।
‘विज्ञापन ?’
‘हो । पछाडिको फुल पेज । भोलिको अंकमा ।’
प्रकाशलाई अप्ठ्यारो भयो । त्यो पत्रिकाको पछाडिको फुल पेज विज्ञापन साधारणतया एक महिनाभन्दा पहिले नै सुरक्षित भइसकेको हुन्थ्यो । आजको भोलि भनेको असम्भव कुरा थियो । उसले अकमकाउँदै भन्यो,
‘हजुर…, भोलि नै त अलि सम्भव… ।’
सर्वेश्वरराजले कुरा काट्दै अत्यन्त नम्र स्वरमा भने,
‘प्रकाशजी ! तपाईंलाई मेरो बारेमा कति थाहा छ, त्यो त म भन्न सक्दिनँ । तर, कृपया एउटा कुराचाहिँ थाहा पाइराख्नुहोला । मैले कसैबाट नाइँ वा हुन सक्दैन भन्ने कुरा नसुनेको कति वर्ष भयो भन्ने पनि म आफैँलाई हेक्का छैन । त्यसैले मेरो सानो र विनम्र अनुरोध छ । विज्ञापन त भोलि नै छापिनुपर्छ । तपाईंले सक्नुहुन्न भने भन्नुस् । जसले सक्नुहुन्छ म वहाँसँगै कुरा गर्छु ।’
प्रकाशलाई थाहा थियो, सर्वेश्वरराज कोइरालाको पहुँच पत्रिकाको स्वामित्व भएका मानिससम्म थियो । सर्वेश्वरराजको कुरा उनले पनि नकार्न सक्दैनन् । त्यसैले उसले समर्पण ग-यो,
‘त्यसको आवश्यकता छैन हजुर । हामीलाई अप्ठ्यारो त अवश्य नै पर्छ । तर, हामी केही न केही गरी एडजस्ट गर्नेछौँ ।’
‘धन्यवाद ! यसो भनेर तपाईंले ममाथि ठूलो गुन लगाउनुभयो । तपाईंको र मेरो समय पनि बचाउनुभयो ।’
प्रकाश खिस्स हाँस्यो । उसले सोध्यो,
‘बरु कस्तो विज्ञापन हो छपाउन पर्नेचाहिँ ? केको बारेमा हो छाप्नुपर्ने विज्ञापन ?’
सर्वेश्वरराज कोइरालाको अनुहारमा पीडाको भाव आयो । उसले बिस्तारै कोटको भित्री खल्तीमा हात घुसा-यो । त्यो हात बाहिर निस्कँदा त्यसमा एउटा फोटो थियो । उसले त्यो फोटो प्रकाशतिर बढायो । प्रकाशले फोटो हे-यो । त्यो चौबीस–पच्चीस वर्षको एउटा सुन्दर युवकको फोटो थियो । उसले फोटोबाट आँखा उठाएर पुलुक्क सर्वेश्वरराज कोइरालालाई हे-यो । सर्वेश्वरराजले अलि थर्थर भएको स्वरमा भन्यो,
‘हराएको मानिस ।’
क्रमश….
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment