Translate

Tuesday, February 5, 2019

हिरोको ‘साइड हिरो’ -नयनराज पाण्डे

समाज, राजनीति र जनजीवनमा सम्मानित ठानिएका तमाम वास्तविक हिरोहरू आफ्ना ढुलमुले स्वभाव, आदर्शविमुख चिन्तन र खराब नियतका चरित्रहरूको संगतले लगातार खलनायकमा रूपान्तरित हुँदै गएको यो घडीमा किताबको बजारमा हस्तक्षेप गर्न आइपुगेको छ–साइड हिरो । मुख्य चरित्रबाहेक पनि सिनेमामा कथानकलाई बढाउन अनेक चरित्र आवश्यक पर्छन् ।

तीमध्ये लगभग मुख्य चरित्रकै हाराहारीको तर कथानकको केन्द्रमा खासै नरहने भूमिकालाई एकताका साइड हिरो, साइड हिरोइन, चरित्र अभिनेता, चरित्र अभिनेत्रीजस्ता फुर्का जोडेर सम्बोधन गरिन्थ्यो । सिनेमामा लगभग सबै चरित्रलाई महत्व दिने परिपाटी सुरु भएसँगै अचेल चरित्रहरूको वर्गीकरण गर्ने क्रम केही कम हुँदै गएको देखिन्छ ।

यस्तोमा सिनेमा क्षेत्रकै अनेक विसंगतिको चिरफार गर्ने धारणासहित किताबी संसारमा आइपुगेको हो ब्रजेश खनालको साइड हिरो । शीर्षकबाटै स्पष्ट भइसक्छ, यो किताबका लेखकको आफू क्रियाशील रहेको कालखण्डको नेपाली सिनेमा क्षेत्रसित जोडिएका तीता–मिठा अनुभूतिहरूको अभिलेख हो ।

नेपालको सन्दर्भमा संस्मरण अचेल निकै फस्टाइरहेको विधा हो । किताब बजारका विश्लेषकहरूले संस्मरण, आत्मकथाजस्ता विधाहरू आख्यानपछि बिक्री हुने विधा मान्न थालेका छन् । लेखन क्षेत्रमा भर्खर कलम चलाउन थालेका लेखक पनि धमाधम संस्मरण लेखनमा लाग्न थालेका छन् । यो विधाको उन्नयनका लागि सुखद कुरा अवश्य हो ।

सर्सर्ती हेर्दा यो सजिलो विधा पनि हो । किनभने यसमा लेखकले कल्पनाशील भएर विषयवस्तुको खोजीमा मरिहत्ते गर्नु पर्दैन । कुनै गम्भीर अनुसन्धान पनि गर्नु पर्दैन । बस्, आफ्नो स्मृतिको पिँधमा जोगिएर बसेका घटनाक्रमलाई सम्झियो र सुन्दर भाषाशैलीमा भकाभक लेख्न थालिहाल्यो । त्यसैले बजारमा संस्मरण भनेर छापिने धेरैजसो लेखनीमा बाल्यकालमा पिताको गोजीबाट पैसा चोरेर सिनेमा हेर्न गएको, स्कुलमा साथीहरूसित अनेक छुल्याइँ गरेको, कुनै उटपट्यांग काम गर्दा आफूले दुःख पाएको जस्ता विषयवस्तु भरमार प्रस्तुत हुन थालेका छन् ।

त्यसैले बजारमा संस्मरण भनेर आउने कतिपय लेखनी एकांगी र कलाविहीन अभिव्यक्ति बनेका छन् । त्यो जोखिममा यो पंक्ति लेखिरहेको बबुरो लेखक पनि धेरैपटक फसेको छ । तर, हामीले बुझ्नुपर्ने कुरा के रहेछ भने यो विधाले आफूसँगै अनेक चुनौती पनि सँगै बोकेको छ । त्यसैले अबका संस्मरणले आफ्ना अनुभूतिलाई इमानदार भई प्रस्तुत गरेर मात्र पुग्दैन, ती अनुभूतिले तत्कालीन समाजको मनोदशालाई पनि प्रकट गरेको हुनुपर्छ ।

रचनाको पृष्ठभूमिमा कतै न कतै संस्मरणमा उल्लेख भएको कालखण्डको सामाजिक, आर्थिक, राजनीतिक या सांस्कृतिक पाटा उद्घाटित भएकै हुनुपर्छ । यसले नै संस्मरणलाई साहित्यको कोटीमा उकाल्छ र वाङ्मयमा सम्मानित स्थान उपलब्ध गराउँछ ।

यस मेसोमा ब्रजेश खनालको साइड हिरोले नेपाली सिनेमा क्षेत्रमा उनको उपस्थिति र सपनाको मात्र चर्चा नगरेर त्यस बखतको नेपाली सिनेक्षेत्रको अवस्था, त्यस क्षेत्रमा संलग्न व्यक्तित्वको मानसिकता र हविगत पनि प्रकट गर्दछ । पाठकले साइड हिरो पढेर लेखक ब्रजेशले सिनेमा क्षेत्रमा गरेको संघर्ष मात्र बुझ्दैन, नेपाली सिनेमा कुन बाटो र कस्ता घुम्ती पार गरेर आजको अवस्थासम्म आइपुगेको हो भनेर पनि बुझ्छ ।

यसरी बुझाउन सक्नु लेखक ब्रजेश खनालको सफलता हो । यही कारणले पनि साइड हिरो संस्मरण विधाको उल्लेखनीय कृतिको रूपमा चर्चा पाउन सफल भएको हो । साइड हिरो त्यस्तो चर्चाको हकदार पनि छ ।

करिब ३२० पृष्ठको साइड हिरोमा साना र मझौला काँटीका लगभग सात दर्जन संस्मरण समावेश छन् । यति धेरै अध्याय भएकाले यसमा विषय र अनुभूतिको प्रशस्त विविधता छ भन्ने कुरा स्पष्ट हुन्छ । त्यसैले सुरु गरेपछि पाठकले अल्छी मानेर किताब बन्द गर्ने स्थिति आउँदैन । ब्रजेश सजिलो भाषामा आफ्ना अनुभूतिलाई लेख्न माहिर छन् ।

समग्र किताबमा उनको हास्य र व्यंग्यचेत मोहक लाग्छ । यी सबै विशेषताले साइड हिरो संस्मरण विधाको एक अब्बल कृतिको रूपमा सम्झन लायक भएको छ ।
साइड हिरो पढिसकेपछि एउटा गजबको कथानक पनि पाठकको दिमागमा निर्माण भइसक्छ । सिनेमामा नायक भएर स्थापित हुने रहर पालेको एउटा युवक (ब्रजेश) आफूलाई स्थापित गराउन सक्ने गजब–गजबका पटकथा आफैँले तयार पार्छ ।


ब्रजेश पटकथा लेखनको क्षेत्रमा सुपर हिट हिरो नै हुन् । त्यसैले साइड हिरो शीर्षकमा हिरोले लेखेको किताब हो यो । यो किताबको समग्र पठनबाट हाम्रो स्मृतिको गहिराइमा निर्माण हुने कथानक यही हो र यो आफैँमा एउटा विशिष्ट कथानक हो ।

तर, आफैँले लेखेको पटकथामा उसको भागको भूमिका कहिले निर्देशकका कारण खोसिन्छ, कहिले निर्माताका कारण काटिन्छ । यति हुँदा पनि हिरो बन्ने सपनालाई छाड्दैन उसले । आफ्नो त्यही मादक सपना पूरा गर्न ऊ निरन्तर पटकथा लेखिरहन्छ । उसको यो हठले उसलाई हिरो नबनाए पनि नेपाली सिनेमाको पटकथा लेखनमा एकछत्र साम्राज्य स्थापित गर्ने एउटा लेखकचाहिँ बनाइदिन्छ ।

ब्रजेश पटकथा लेखनको क्षेत्रमा सुपर हिट हिरो नै हुन् । त्यसैले साइड हिरो शीर्षकमा हिरोले लेखेको किताब हो यो । यो किताबको समग्र पठनबाट हाम्रो स्मृतिको गहिराइमा निर्माण हुने कथानक यही हो र यो आफैँमा एउटा विशिष्ट कथानक हो । साधारणजस्तो लाग्ने लेखनीबाट यति विशिष्ट कथानकलाई आकार दिन सक्ने लेखक ब्रजेशको जादुमय तर स्वाभाविक लेखनीको त्यसैले पनि खुलेर प्रशंसा गर्न कर लाग्छ ।

संसारमा विशिष्ट दरिएका कृतिमा पनि खोजी पस्यो भने अनेक कमजोरी फेला पर्छन् । कुनै पनि किताब निर्विवाद या निर्विकल्प किसिमले विशिष्ट हुन सक्दैन । तर, किताबका कमजोरीले बहस पनि निम्त्याउँछन् र त्यसले लेखन क्षेत्रमा लाग्ने भावी पुस्तालाई निर्देशित पनि गर्छन् । त्यसैले यो संस्मरण कृतिलाई कमजोरी नै नभएको कृति भनेर अतिरञ्जित गर्नु ठीक हुनेछैन ।

यो किताबमा रहेका सबै अध्याय उत्तिकै रोचक अवश्य छन् । तर, कतिपय घटना एउटै किसिमले रिपिट भइरहन्छन् । लेखकले पटकथा तयार गरेको, त्यसमा उसको भूमिका पक्कापक्की भएको, तर विविध कारणले त्यो भूमिकाबाट हटेर अर्को सहायक भूमिकामा आबद्ध हुनुपरेको कुरा किताबका धेरै अध्यायमा दोहरिइरहन्छन् ।

त्यसैले पाठकले किताबको आधाउधी हिस्सा पढिसक्दा लेखकले प्रस्तुत गरेका अनुभूति लगभग एउटै परिधिमा चक्कर काटिरहेको अनुभूत गर्न सक्छन् । धेरै घटनाक्रमको यही खालको पटाक्षेपले पाठकलाई संस्मरणमा अब यस्तो हुनेछ भनेर अनुमान गर्ने बनाइदिन्छ ।

हुन त किताबमा जे लेखिएको छ, त्यहीभित्रै रहेर कृतिको समीक्षा गर्नु उपयुक्त हुन्छ । तर पनि अलिकति छुच्चो भएर भन्नुपर्दा के भन्न सकिन्छ भने, यस कृतिमा लेखकले प्रशस्त इमानदार भएर आफ्ना अनुभूति प्रस्तुत गरेको भए पनि आफ्नो व्यक्तित्वका अरू अँध्यारा वा विसंगत पाटाको उतिसारो चर्चा गरेका छैनन् । हिरो हुन चाहने उनको लडहले के कहिल्यै उनको परिवारमा खटपट भएन ?

के कहिल्यै कुनै नायिकालाई उनले कास्टिंग काउचको सिकार भएको देखेनन् ? के सिनेक्षेत्रमा लागेका थुप्रै लाइटब्वाय, स्पटब्वाय, क्यामेराम्यान, मेकअप आर्टिस्ट र ड्रेसम्यान आदिका कहालीलाग्दा समस्यासित उनको कहिल्यै कुनै जम्काभेट भएन ? नेपाली सिनेमा लामो समयसम्म बम्बैया सूत्रबद्ध लेखनबाट प्रभावित भइरह्यो, त्यसबाट बाहिर निस्कन नेपाली सिनेमा क्षेत्रमा किन बलियो प्रयास भएन ?

हाम्रो सिनेमा हाम्रो भाषामा त बन्यो, तर यसमा हाम्रो मौलिक कथानक किन समावेश भएन ? यी यावत् विषयमा हल्का स्पर्श त ब्रजेशले केही प्रसंगमा गरेका छन्, तर ती प्रश्नको जवाफ भने मुखर रूपमा उल्लेख गरिदिएका छैनन् ।

एउटा थिमभित्र बसेर लेख्दाको समस्या पनि होला यो । त्यसैले यी प्रश्नको जवाफ नदिँदा पनि साइड हिरो अहिलेको समयको महत्वपूर्ण संस्मरणात्मक कृति हो भन्न अप्ठ्यारो मान्नु पर्दैन । यो किताबका सबै अध्याय उत्तिकै महत्वपूर्ण नहुन सक्छन् । तर, किताबभित्रका केही प्रसंगले भने यसको गरिमा र गुणवत्तालाई ह्वात्तै उचालिदिएको छ ।

किताबभित्र उल्लेखित जमानाका विख्यात कलाकार गोपालराज मैनालीसित जोडिएको एउटा संक्षिप्त संस्मरण यस्तै एउटा उदाहरण हो, जसले यो किताबलाई सम्मानित बनाइदिएको छ ।

कुनै वेला म पनि सिनेमाको पटकथा लेखनमा छिपछिपे पाराले लागेको थिएँ । त्यतिवेला सिनेमा लेखनको क्षेत्रमा ब्रजेशको उपस्थितिप्रति ईर्ष्या गर्थेँ म । आज साइड हिरोमा उसले आफूलाई यति सहज, स्वाभाविक र इमानदार किसिमले अभिव्यक्त गरेको पाउँदा ऊप्रति सम्मान प्रकट गर्न मन लागेको छ ।

२०७५ मंसीर २९, नयाँ पत्रिकाबाट

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment