एकतर्फी मायामा परेको प्रेमीले रातभरि फेरेभन्दा बढी कोल्टे समयले फेरिसक्यो, तर यो फाइँफुट्टीराज र तपाईँहरुको भेट नरेन्द्र मोदी र केपी ओलीको भेट जस्तै सम्भव भइरहेको थिएन । के गर्नु, फाइँफुट्टी हाँक्ने गतिलो विषय नै फुरिरहेको थिएन । कामचलाऊ फाइँफुट्टी हाँकेर भएको अलिअलि इमेज किन बिगार्नू भनेर फाफुरा चुप बसेको थियो । ‘देशमा कत्राकत्रा परिवर्तनहरु भइसके, तैँले कुनै विषय पाइनस् फलान्थोक् फाफुरा ?’ भनेर तपाईँहरुले मृदुभाषा प्रयोग गर्नुहोेला । हुन त आम जनमानसको सोच चाहिँ वास्तवमै परिवर्तन भइरहेकै हो । ‘गनतन्त्र’ले नेपालीको भलो हुने दिन कहिले आउला भनेर गन्दागन्दा पेटभित्रबाट कन्दाकन्दा पनि ननिखारिएको कस्सिलो गोटाजस्तो भइसकेको छ नेपालीको ‘अच्छे दिन’को चाहना । तर त्यो दिन भने ज्यान गए भित्रबाट बाहिर नआउने । आउला कि भन्दैै जनताले टनका टन आश्वासनर हावादारी गफका इसबगोल पनि खाइसके तर त्यो ज्याद्रो समुन्नति ज्यानजाला निस्कने हैन । त्यसैले डुब्न लागेकोलाई सिन्कोे पनि जहाज बराबर लागेर होला, पाँच जना हुन् कि पाँचसय जना मानिस राजतन्त्रको पुनस्र्थापनाका लागि सडकमा ओर्लन बाध्य भए । पख्नुस् पख्नुस्–राजावादी साथीहरु, तपाईँहरुले पाखुरा सुर्केर ‘कमसेकम सरकारले समेत दश हजार देख्याथ्यो । त्यत्रा मानिसलाई पाँच कि पाँच सयमात्र देख्ने तेरा आँखा हुन् कि ठ्वाटः भइसकेको गुच्चा फाफुरे?’ भनेर फाफुरालाई सत्तोसराप गर्नुअघि एउटा कुरा बुझिहाल्नुस्, यो सँख्या त फाफुराले पहाडतिरका एकजना किस्नले लेखेको लेखबाट साभार गरेको हो । त्यति ठूला र नाम चलेका मानिसले लेखेकोे कुरा साँचो नैै होला भनेर आधिकारिक मानेको हो । नपत्याए कुनै अनलाइन पोर्टलमा खोतल्नु भयो भने अझै पनि त्यो लेख पढ्न पाउनुहुनेछ ।
जे होस्, कुरा हुँदै थियो फाफुरालाई फाइँफुट्टी नफुरेको । त्यसैले फाफुरा आफ्नो पुरानो फर्मुला प्रयोग गर्दै रत्नपार्कमा गएर टोपीले मुख छोपेर सुत्यो । तर दिनभर कुम्भकर्णको निन्द्रा सापटि मागेर बुढानीलकण्ठ लडेजस्तो लड्दा पनि यसपटक केही फाइँफुट्टी पनि फुरेन । आफ्नो दिमाग पनि अब हाम्रा देशका होनहार र महान नेताहरुकोजस्तै पत्रु र निकम्मा भइसकेको त हैन भनेर उसलाई हुनसम्म पीर प¥यो । त्यही तोडमा उसले झलक्क एउटा कुरा सम्झियो । ठूलाठूला लेखकहरु आइडिया फुराउन टिन्चुपानी दिने गर्छन् भन्ने उसले कतैै सुनेकोे थियो । नाम चलेका कनकहरु पनि चुस्स दिएपछि सुरमा गीत कन्छन् रे भन्ने पनि उसले कतै पढेको थियो । (आजकल गाउने भन्दा कन्ने बढी प्रचलन भएकाले तिनलाई गायक नभनेर कनक भनिएको हो)
फाफुराले पनि एकपटक त्यही उपाय अवलम्वन गर्ने विचार ग¥यो । ऊ ठेलमठेल गर्दै माइक्रोमा चढेर आफ्नो डेरातिर लाग्यो । बाटोभरि उसको आँखामा एकवर्ष अघि एउटा साथीले विदेशबाट आउँदा ल्याइदिएको मदिराको बोतल नाचिरहेको थियो । कहिलेकहीं फाफुरीले उसको मूड राम्रो भएको बेलामा आचमनीले अड्कलेर छर्किदिने गरेकी त्यो बोतलमा अलिअलि त कसो बाँकी नहोला । यही कल्पना गर्दै फाफुरा डेराको कोठामा पुग्दा फाफुरी एउटा चिर्कटो छोडेर कतै गएकी रहिछ । आफू राजाको स्वागत हुलुशमा भाग लिनका लागि विमानस्थलतिर गएकी हुनाले आउने समयको ठेगान नभएकोे कुरा उसले लेखेकी रहिछ । यूएसएडको सहयोग बन्द हुने हल्ला चलेर आफू काम गर्ने आइएनजीओले तलब खुवाउन नसक्या दिनदेखि फाफुरी उग्र राजावादी भएर निस्केकी थिई । ‘हेर न, राजा त जसरी पनि फर्किन्छन्’ भन्दै कुर्लन्थी । त्यसदिन बिहान फाफुराले उसलाई सोध्या थियो, ‘किन कुर्लन्छ्यौ फाफुरी ? राजा आए पनि नआए पनि तिमी हामीलाई के फरक पर्ने हो र ?’ फाफुरीले नाकको पोहरा फुलाउँदै भनेकी थिई, ‘तिमी पो आगेपिछे कोही नभएको मानिस फाफुरा । मेरो त ठाउँसम्मै पहुँच छ ।’ निकैबेर सोच्दा पनि त्यस्तो पहुँच को रहेछ भन्ने उसले सोच्न सकेको थिएन । उसको भाव पढेर फाफुरीले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको फ्लडलाइट भन्दा चर्को आँखा चम्काउँदै भनेकी थिई, ‘पोहोर साल एउटा कार्यक्रममा मेरो रविन्द्र मिश्रसँग चिनापर्ची भएको बिस्र्यौ ? उनी र मेरा एकजना टाढाका नाता पर्ने दाइ आरआरमा एउटै ब्याचमा पढेका हुन् । राजा आउन त देऊ, रविन्द्र मिश्रलाई कमसेकम उपप्रधानमन्त्री त बन्न देऊ, कहीं न कहींको राजदूत अवश्य बनाउँछन् मलाई ।’
पकाउन मन लागे पकाउनू नभए हिजोको बासी भात र इस्कुसको झोल तरकारी खाएर सुत्नु भन्ने उर्दी पनि त्यही चिर्कटोेमा जारी गरेर ऊ विमानस्थलतिर गएकी रहिछ । फाफुरीको चिर्कटो पढ्दै उसले सोेच्यो, एक हिसाबले त राम्रै भयो । दारु हान्दा किचकिच गर्ने मान्छे पनि नभएपछि त आइडिया नफुरुन्जेल पिउन पाइने भयोे । तर ‘म ताक्छु लोकतन्त्र, सरकार दिन्छ ठोकतन्त्र’ भनेजस्तैै बोतलमा भएको प्रेरणाको खानी त देशको अर्थतन्त्रजस्तै धराशायी भइसकको रहेछ । त्यो बोतलमा हो कि होइन भनेजस्तो गिलाँसमा खन्याउँदा आधा औंलाजति पनि नहुने प्रेरणा मात्र बाँकी रहेछ । भाग्ने भूतको लँगौटी नै सही भन्दै त्यही भएपनि फाफुराले कुच्चेको स्टीलको गिलाँसमा खन्यायो । अनि इस्कुसको झोलमा निकै बेर डुबुल्की लगाएर केही टुक्राहरुलाई स्न्याक्सको रुपमा छुट्यायो । देशका नेताहरुको उत्तरदायित्व भन्दा पनि कम त्यस तरल पदार्थलाई उसले एकै घुट्कोमा सकायो । तर किल्किलेसम्म पनि पुग्न नभ्याइ मुखैमा वाष्पीकरण भएर उडेको त्यो चुत्थो तरल पदार्थले न फाफुरालाई रमरम भयो न त कुनै आइडिया नै फु¥यो । थप्नको लागि किन्न जाऊँ भने फाफुराको गोजीमा सुक्कोदाम थिएन । उसले सोच्यो, फाफुरीको कुरोे सही सावित भएको छ । नभन्दै राजा फर्किएका छन् ।
पोखराबाट ।
त्यही खुशीमा फाफुरीले उसका लागि एक क्वाटर त कसो नल्याइदेली र ? आशावादी भएर फाफुराले फाफुरीलाई फोन लगायो । घण्टी जान थाल्यो । अचेल फोन कम्पनीहरुले तपाईँलाई मन लागे पनि नलागे पनि घण्टी जाउन्जेल नानाभाँतिका सन्देश र विज्ञापन सुनाउने गर्छन् । तपाईँले मेहेनत गरेर कमाएको पैसो तिरीतिरी प्रयोग गरेको सेवामा यसरी जवर्जस्ती विज्ञापन सुनाउन पाइन्छ कि पाइँदैन भन्ने एउटा अलग्गै छलफलको विषय हुनसक्छ । तर प्रेरणाको अभावमा काकाकुल भइरहेको फाफुरालाई यसपटक भने फोन कम्पनीले गज्जबको कुरा सुनायो । एउटी महिला भन्दै थिइन्,
‘के तपाईँलाई प्याक सकिएको याद हुँदैन ? र प्याक लिन बिर्सनुहुन्छ ? यदि छ भने अहिले नै एस्टरिक्स फलानो फलानो नम्बर र ह्याश थिचेर आफै पुनः सुचारु हुने प्याक सुविधा भएको प्याक लिनुहोेस् र रहनुहोस् सँधै ढुक्क ।’
फाफुरा दंगदास भयो । प्रविधिले क्या गज्जबको विकास गरिसक्यो । आफ्ना ग्राहकहरुको प्याक सकिएको कुरा फोन कम्पनीले कसरी थाहा पाउँदो रहेछ ? त्यतिमात्र नभइ आफै पनि र पुनः पनि सुचारु हुने प्याक सुविधा पनि प्रदान गर्दो रहेछ भाइ । उसलाई त के खोज्छस् नेतो–कुर्सी भनेझैं भइहाल्यो ।
फाफुराले हतारहतार ती महिलाले भनेको एस्टरिक्स, नम्बर र ह्याश थिच्यो । फोनबाट प्याक सुचारु भएको उदेकलाग्दो घटनाको साक्षी हुन पाउने भएकोमा ऊ उत्साहित थियो । तर फोनबाट प्याक कसरी झर्ला भनेर उसले कर्मचारीको इमानजस्तै सस्तो आफ्नो फोनलाई उल्ट्याइपल्ट्याइ हे¥यो । त्यहाँबाट प्याक झर्नको लागि चार्जर जोड्ने प्वालबाहेक उसले अरु केही देखेन । फाफुराले त्यो प्वाललाई गिलाँसको मुखमा पर्ने गरी फोनलाई घोप्ट्यायो । अनि घुटुक्क थुक निल्दै, मुख मिठ्याउँदै र अअिलि ¥याल पनि चुहाउँदैै प्याक कुन बेला आफै र पुनः सुचारु होला अनि चट्ट ग्याम्बे गरौंला भनेर कुर्न थाल्यो । तर निकै बेर रित्तो गिलाँसलाई नियालेर बस्दा पनि एक थोपा केही झरेन । फोन कम्पनीले भनेजस्तो प्याक आफै र पुनः सुचारु भएन । फाफुरालाई लाग्यो, कतै आफूले अघिल्लोपटक थिच्दा भने अनुसार नभएर केही तलमाथि भयो कि त ? उसले फेरि एकपटक फाफुरीको नम्बर डायल ग¥यो । फोन कम्पनीकी महिला फेरि बोल्न थालिन् । फाफुराले यसपटक हतारहतार कलमले कागजमा भनेको कुरा टिप्न भ्यायो । यसपटक त केही फरक नपरोस् भनेर ध्यानपूर्वक फेरि एकपटक ती महिलाले भनेको भनेको अनुसार थिच्यो र गिलाँसमा ध्यान दियो । अब त कसो नहोला । तर यसपटक पनि गिलाँस प्रतिनिधि सभाको सदनजस्तो भयो, ज्यान गए भरिएन । अब फाफुराको धैर्यले साथ दिएन । एकपटक त्यो फोन कम्पनीमै बुझ्नुपर्ला भनेर फाफुराले त्यहाँको ग्राहक सेवा केन्द्रको नम्बर थिच्यो । अघिकैै महिलाले फेरि प्याक पुनः आफै सुचारु हुने वाला सन्देश दिँदादिँदै उताबाट अर्की महिलाको मधुरो आवाज सुनियो,
‘नमस्कार, नेटफेल कम्पनीको ग्राहक सेवा केन्द्रमा यहाँलाई स्वागत छ । म यहाँको के सेवा गर्न सक्छु ?’
फाफुराले पनि आफ्नो स्वरमा सख्खर घोल्दै भन्यो,
‘प्याक आफै पुनः सुचारु गर्न मैले तपाईहरुले भनेजस्तो नम्बरहरु दुईपटक थिचिसकेँ । तर मेरो प्याक न आफै न पुनः ज्यान गए सुचारु भएन ।’
उसले अचम्म मान्दै भनी, ‘त्यस्तो त नहुनुपर्ने हो सर ।’
‘हेर्नुस् यो देशमा नहुनुपर्ने धेरै कुराहरु भइरहेका छन् ।’
‘हजुरले अहिले कुन प्याक लिइरहनुभएको थियो ?’
फाफुराले गिलाँसमा औंला हालेर घुमाएर बाँकी भएको एक थोपा पनि सोहोरेर निकालेर चाट्दै भन्यो,
‘अहिले त मैले अलि महँगै विदेशी प्याक चलाइरहेको थिएँ । त्यो सकियो । अलिकति डोज पुगेन । त्यसैले तपाईँहरुले भनेको प्याक लिन खोजेको हूँ । तपाईँहरुसँग जुनको प्याक छ त्यही पुनः आफै सुचारु गरिदिनुभए हुन्छ ।’
उताबाट अझै अलमलिएको स्वरमा उसले भनी, ‘सर म यहाँ सिस्टमबाट मिलाइदिन्छु । हजुरलाई कतिको प्याक चाहिएको ?’
‘कतिसम्म पाइन्छ ?’
‘सर हजुरको आवश्यकता अनुसार जतिको पनि पाइन्छ ।’
फाफुराले घुटुक्क थुक निल्दै भन्यो,
‘त्यसो भए अहिले तुरुन्तलाई नाइन्टी एमएल गरिदिनुस् । त्यसपछि आधा घण्टामा अर्को नाइन्टी एमएलको प्याक चाहिएला ।’
उताबाट बोल्ने महिलाको विस्मयपूर्ण स्वर आयो,
‘सर के भन्नुभा ? नेटवर्क अलि राम्रो छैन । मैले राम्ररी बुझिनँ । कतिको प्याक भन्नु भयो ?’
‘नाइन्टी नाइन्टी एमएलकोे दुईटा प्याक भनेको ।’
‘एमएल रे ? सर हजुरले एमबी भन्न खोज्नुभएको होला । कि हजुरलाई जीबी चाहिएको सर ?’
फाफुराले अधैर्य हुँदै भन्यो, ‘हेर्नुस् बहिनी, म एउटा नेरुमा पारिश्रमिक लिएर बल्लबल्ल हातमुख जोर्न भ्याउने लेखक हूँ । वचत गर्न पुग्ने मेरो आम्दानी भए पो ? मजस्तो बबूरो लेखकलाई जीबीको के काम ? जीबी त सहकारीमा पैसा जम्मा गरेर डुबेकाहरुलाई चाहिएला । मलाई त एमएल मात्रै हो चाहिने । नब्बेनब्बे एमएलको दुई प्याक । उसै पनि एक क्वाटरभन्दा बढी मेरो कलेजोले सित्तैंमा दिए पनि पचाउन सक्दैन ।’
ती महिलाले जिल्ल पर्दै भनिन्, ‘सर प्याक भनेको हजुरले अर्थोकै बुझ्नुभयो जस्तो छ ।’
फाफुराले सम्झाउने भावले भन्यो, ‘नानी । मैले सही नै बुझेको छु । व्यर्थको विवाद नगर, मलाई फाइँफुट्टी फुराउन हतार भइसक्यो । तिम्रो आफै सुचारु हुने प्याकलाई कुर्दाकुर्दा घाँटी नै प्याकप्याक भइसक्यो ।’
अब भने उताकी महिला केपीबाको चुट्किला सुनेर एमालेका कार्यकर्ताहरु हाँसेजसरी गललल्ल हाँसिन् र भनिन् ‘सर हामीले त इन्टरनेट चलाउने डेटाको प्याक भनेको हौँ । तपाईँले भन्न खोज्नुभएको कुरालाई त प्याक हैन, पेग भनिन्छ ।’
त्यसपछि भने फाफुराका कन्सिरिका रौंहरु रिसले बिस्तारै ठाडा हुन थाले । फाफुराको भित्रको जनावर पनि जाग्यो र ठूलै स्वरमा चींचीं गर्न थाल्यो । उसले बल्लबल्ल त्यो क्रुद्ध जनावरलाई बलजफ्ती त्यसको सानो खोरमा थुन्यो । हामी नेपालीलाई कसैले केही सिकाएको सह्य हुँदैन भन्ने कुरा ती महिलालाई थाहा छैन कि क्या हो ? हामीले जे सोच्छौँ, जे बुझ्छौँ र जे भन्छौँ, त्यो गलत भएपनि सही हो । हामी बगलामुखीलाई बंगलामुखी भन्न चाहन्छौँ भने त्यो बंगलामुखी नै हो । अल्गो मान्छेलाई हाइटी भन्छौैँ भने त्यो हाइटी नै हो । प्रतिभाशाली मान्छेलाई हामी ट्यालेण्टेड नभनेर ट्यालेण्ट भन्छौँ भने त्यो हामीलाई सम्विधानले दिएको स्वतन्त्रता हो । हामीलाई कसैले सुधार्न पाउँदैन । किनभने हामी नेपाली होँ, हामीलाई त्यसको आवश्यकता छैन । म त झिल्के यस्सै राम्रो, यस्सै राम्रो उस्सै राम्रो नेपाली हुनाले भन्ने गीत ती नानीले सुनेकी छैनन् ? नामको त कुरै छाडौँ ठामलाई नै पनि हामी ध्वस्त बनाउन सक्छौँ । देशमात्र नभइ विदेश गयौँ भने पनि त्यहाँ हाम्रै पारा कायम गर्छौँ । अष्ट्रेलियालाई समेत हामी आठौँ प्रदेश भनेर मजाक गरेर आत्मरतिमा रमाउनसक्ने दुर्लभ प्रजाति पो हौँ त । त्यसैले हामी भिक्टोरियालाई भिखकटोरिया बनाउन पछि पर्दैनौँ । न्यूयोर्कलाई सन्धीखर्क सरह बनाउन हामी स्वतन्त्र छौँ । कतारलाई कटारी, दुबइलाई दुबही र मलेशियालाई मालेपाटन सरह बनाउन सक्छौँ हामी । अनि यस्तो कर्मठ, स्वाभिमानी देशको फाफुराजस्तोे नागरिकलाई प्याक र पेगको अन्तर सिकाउन खोजेको कसरी सह्य हुनु ? उसले कठोर स्वरमा भन्यो, ‘स्पष्ट कुरा नभन्नू तिमीहरुको गल्ती हो । प्याक भनेपछि मैले त आम नेपालीले जे बुझ्नु पर्ने हो, मैले त्यही बुझेको हूँ । त्यसैले खुरुक्क ह्विस्की, भोड्का, जिन, ब्राण्डी अथवा लोकल जेको भएपनि प्याक तुरुन्तै सुचारु गराइदिई हाल ।’
‘क्या तालतालका मान्छेहरु फोन गर्छन्’ भन्दै ती महिलाले फोनको सम्पर्क विच्छेद गरिदिइन् ।
फाफुरा भित्रको जनावर फेरि चींचीं गर्न थाल्यो । त्यहीबेला फाफुरी पिन थुतेको ग्रेनेडजस्तो भएर आइपुगी । कुनै बेला पनि पड्किन सक्ने । राजावादीहरुको हुलुशमा कुन चाहिँ बगलीमारले उसको खल्तीमा राखेको पर्स नै उडाइदिएछ । त्यसैले माराजगन्जादेखि लुखुरलुखुर हिंडेर ऊ लगनखेलको डेरासम्म आइपुगेकी रहिछ । उसले आदेश जारी गरिहाली, ‘खुट्टा करकर दुःखेर मर्नमात्र बाँकी छ म । फटाफट तेल तताएर म ननिदाउन्जेल पैंतालमा मालिस गर्देऊ त फाफुरा ।’
प्याक सुचारु नभएर प्याकप्याक भएको बिचरो फाफुरा फाफुरीले ग्यास्केट बिग्रेको प्रेसर कुकर जस्तो आवाज निकालेर घुर्दै ननिदाउन्जेल उसको पैंताला मालिस गरिरह्यो । प्याक सुचारु होला, प्रेरणा पाइएला, फाइँफुट्टी फुर्ला, लेखौंला र तपाईँहरुसँग फेरि भेटौैँला भनेर गरेको आश पनि फोन कम्पनीले त्यत्तिकै तुर्याइदियो । तै पनि आशावादी फाफुरा सोच्दै थियो, ‘राजतन्त्र फर्केला त ? रविन्द्र मिश्रले फाफुरीलाई गतिलो देश नभएपनि बुर्किना फासोको सम्म राजदूत कस्सो नबनाउलान् त ?’
के थाहा, यो मुलुकमा जे पनि हुनसक्छ ।
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment